सर्वोच्चमा दर्ता भयो प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट

सर्वोच्चमा दर्ता भयो प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट

कहिरन समाचार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायत २४ द्वन्द्वपीडितहरूले प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाहीको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको हो । प्रचण्डविरुद्धको रिट निवेदन सर्वोच्च प्रशासनले ९४७ नम्बरमा दर्ता भएको जनाएको छ ।

यसअघि दर्ता गर्न खोजिएको निवेदन सर्वोच्च प्रशासनले पटक पटक दरपीठ गरे पछि दरपीठको आदेशविरुद्ध गत कात्तिक २४ मा दरपीठ भएको रिट सर्वोच्चका न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको फागुन १९ को आदेशपछि आज दर्ता भएको हो । रिटमा प्रारम्भिक सुनुवाइको लागि पर्सि बिहीबार पेसी तोकिएको छ ।

निवेदकहरूले आफ्ना परिवारका सदस्य मारेको भन्ने अभिव्यक्ति दिएका नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन माग गरेका छन् । दाहालले २०७६ माघ १ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा १७ हजारमध्ये पाँच हजार हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए ।

दाहाललाई प्रतिवादी बनाएर रामेछापका ज्ञानेन्द्रराज आरण, जितेन्द्रकुमार मोक्तान, शंखरलाल लामा, सिन्धुपाल्चोकका दीपक हमाल, गोरखाकी होमकुमारी बजगाईं, स्वस्तिका अधिकारी, निलम देवकोटा, सीतादेवी ढकाल, जनककुमारी कोइराला, विजय श्रेष्ठ, नवराज पोखरेल, स्याङ्जाकी सावित्री शर्मा, काभ्रेकी पूर्णिमाया लामा, सलामसिंह लामा र ओखलढुंगाकी लक्ष्मी श्रेष्ठले रिट दिएका हुन् ।

त्यस्तै, अर्को रिटका निवेदकहरूमा कल्याण बुढाथोकी (रामेछाप), कमला राई तिमल्सेना (भोजपुर), विनोद सापकोटा (गोरखा), हुमराज दवाडी (लमजुङ), पम्फा बुढाथोकी (रामेछाप), शिवकुमार बुढाथोकी (रामेछाप), सुवास गिरी (रामेछाप) र चिरञ्जीवीवास गिरी (धनुषा) छन् ।