मुस्ताङमा विश्वविद्यालय खोल्ने निर्णय भएको छैन, पत्राचारबारे छानबिन हुन्छ: सरकार

मुस्ताङमा विश्वविद्यालय खोल्ने निर्णय भएको छैन, पत्राचारबारे छानबिन हुन्छ: सरकार

कहिरन समाचार

काठमाडौँ । सरकारले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा विश्वविद्यालय खोल्ने निर्णय नगरेको बताएको छ । कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति पूर्णत भ्रमपूर्ण रहेको सरकारका प्रवक्ता रेखा शर्माले बताएकी छन् ।

‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ,’ सरकारका प्रवक्ताको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं ।’

गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको भन्ने सार्वजनिक समाचारका सम्बन्धमा अध्ययन र आवश्यक छानविन गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रवक्ता शर्माले उल्लेख गरेकी छन् ।

सूचना तथा संचार मन्त्री समेत रहेकी शर्माले प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीनरुपमा यस्ता विषय श्रृखलाबद्धरुपमा सार्वजनिक हुनु दुखद भएको लेखिएको छ । उनले यस्ता भ्रमपूर्ण अभिव्यक्तिहरुबाट भ्रमित नहुनसमेत संचारमाध्यम र आम जनसमुदायमा अपील पनि गरेकी छन् ।