विष्णुमती, मनोहरालगायत खाेलामा बाढी

विष्णुमती, मनोहरालगायत खाेलामा बाढी

कहिरन समाचार

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा गएराति परेको ठूलो पानीले गोदावरी, हनुमन्ते, विष्णुमती, मनोहरा, नख्खुलगायत स-साना खोलामा जलसतह बढेको छ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले ती खोला क्षेत्रको आसपासमा शनिबार बिहान ८ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ।

हाल ती नदी जलाधार क्षेत्रमा पानी पर्नेक्रम रोकिएको छ। तर आज पनि काठमाडौं उपत्यकासहित  देशभरको मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो वागमती प्रदेशसहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। र यो क्रम अझै केही दिन रहनेछ।

अझै एक-दुई दिनसम्म वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले दिएको जानकारी अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आएकाले केही दिन वर्षाको सम्भावना रहेको छ।

मौसमविद हिरा भट्टराईका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानमा छ। यो प्रक्रिया अब १-२ दिन रहन्छ। न्यून चापीय रेखा सरदर स्थानभन्दा जति उत्तर भयो त्यतिनै पानी पर्ने सम्भावना बढ्छ।

हिजो/ अस्तिभन्दा अब केही ठूलो वर्षा हुनसक्नेछ।

आज काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना रहेको मौसमविद् भट्टराईले बताए।