वैदेशिक रोजगारीमा १४ वर्षमा १० हजार नेपालीको मृत्यु

वैदेशिक रोजगारीमा १४ वर्षमा १० हजार नेपालीको मृत्यु

कहिरन समाचार

वैदेशिक रोजगारीमा जाने क्रम दिन प्रतिदिन बढ्दो क्रममा छ । दैनिक १ हजार ७०० भन्दा बढीको हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको तथ्यांकले देखाउँछ । जति धेरै नेपाली वैदेशिक रोजगारीमा गइरहेका छन्, त्यति नै धेरै नेपालीको विदेशमा मृत्यु भइरहेको पनि देखिएको छ ।  विगत १४ वर्षको तथ्यांक हेर्ने हो भने १० हजार भन्दा बढी नेपालीको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार १४ वर्षमा १० हजार ९३२ जना नेपालीले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका हुन् । २ हजार १२५ जना अंगभंग भएका छन् ।
आर्थिक वर्ष २०६५/०६६ मा ७८ जना नेपालीले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका थिए । त्यसको १४ वर्षपछि अर्थात गत आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ४७९ जनाले ज्यान गुमाए । जसमा १ हजार ४३२ जना पुरूष र ४७ जना महिला रहेको विभागको तथ्यांकले देखाएको छ ।

गत वर्ष सबैभन्दा बढी मलेसियामा मृत्यु भएको देखिन्छ । जहाँ ३ जना महिलासहित ४११ जनाको मृत्यु भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसपछि साउदी अरबमा ४ महिलासहित ३८९ जनाको मृत्यु भएको थियो । कतारमा ४ महिलासहित २९४, यूएईमा १५ महिलासहित २०६ जना, कुवेतमा ६ महिलासहित ६५, बहराइनमा २३, दक्षिण कोरियामा १६, ओमानमा १ महिलासहित १४ जनाको मृत्यु भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै बिरामी परेर मृत्यु भएका छन् । २० जना महिलासहित ४६६ जनाको विरामी परेर मृत्यु भएको थियो । गत वर्ष कोरोनाका कारण विदेशमा ५ महिलासहित २१३ जनाले ज्यान गुमाएका थिए । त्यस्तै प्राकृतिक मृत्यु ६ महिलासहित २३६, सडक दुर्घटनामा परेर ६ महिलासहित १३५, आत्महत्या ३ महिलासहित १०५ जना, हृदयघातबाट २ महिलासहित ९४ जनाको मृत्यु भएको थियो ।