इजराइलको हमलामा गाजामा हालसम्म २४ प्यालेस्टिनीको मृत्यु

इजराइलको हमलामा गाजामा हालसम्म २४ प्यालेस्टिनीको मृत्यु

कहिरन समाचार

इजराइलको हमलामा गाजामा हालसम्म २४ प्यालेस्टिनीको मृत्यु भइसकेको प्यालेस्टिनी प्रशासनको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँ इजरायली सेनाले प्यालेस्टिनी सशस्त्र समूह इस्लामिक जिहाद (पीआईजे) का लडाकुहरूलाई निशाना बनाएको छ ।

मृत्यु हुनेमा पीआईजेका नेता तैसिर जबरीसहित ६ जना बालबालिका र धेरै लडाकु रहेका छन् । यसैबीच, इजरायली अधिकारीका अनुसार आक्रमणको जवाफमा शुक्रबारदेखि इजरायलमा करिब ३०० रकेट र मोर्टार प्रहार गरिएको छ । तीमध्ये करिब ७० वटा इजरायलसम्म नपुगिकन गाजा पट्टीमा नै खसे ।

इजरायलले पीआईजेको धम्कीलाई ध्यानमा राखेर यो अभियान सुरु गरेको जनाएको छ । मे २०२१ मा ११ दिनको लडाइँपछिको इजरायल र गाजाबीचको यो सबैभन्दा गम्भीर भिडन्त हो । मे महिनामा २०० प्यालेस्टिनी र इजराइलका दर्जनौँको मृत्यु भएको थियो ।

इजरायली सेनाले  ‘ब्रेकिङ डन’ नामको यो अपरेशन एक सातासम्म चल्न सक्ने चेतावनी दिएको छ ।

इजरायलका अनुसार गाजामा हवाई हमला गर्नुका साथै कब्जा गरिएको वेस्ट बैंकबाट छापा मारेर पीआईजेका करिब १९ सदस्यलाई पक्राउ गरिएको छ ।

टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै इजरायलका प्रधानमन्त्री लेपिडले भने, ‘इजरायलले आतंकवादविरुद्ध सशक्त अभियान सुरु गरेको छ । यस्तो नगरिएको भए खतराले छिट्टै नै ढोका ढक्ढकाउन आइसक्थ्यो ।’