प्रत्येक वर्ष मनाउने क्रिसमस पर्वको माहौल सुरु

प्रत्येक वर्ष मनाउने क्रिसमस पर्वको माहौल सुरु

कहिरन

इसाई धर्मावलम्बीले प्रत्येक वर्ष मनाउने क्रिसमस पर्वको माहौल सुरु भइसकेको छ । येशू ख्रिस्टको जन्मदिनको स्मरण गरिने क्रिसमसको मुख्य दिन डिसेम्बर २५ को सङ्घारमा आइपुग्दा  मानिसहरू फेस्टिभल मुडमा देखिन्छन् ।

लन्डनका प्रमुख पर्यटकीय आकर्षणका केन्द्रहरू झिलिमिली बत्तीहरूले सुन्दर र मनमोहक बनेका छन् । क्रिसमसको महिना दिन अगाडिदेखि नै लन्डनको प्रमुख पर्यटकीय क्षेत्रहरू लन्डन ब्रिज, अक्सफोर्ड स्ट्रिट, पिकाडेली सर्कस लगायत क्षेत्र रङ्गीचङ्गी र झिलिमिली बत्तीले दुलही झैँ सिङारिएको छ । क्रिसमसलाई लक्षित गरी सञ्चालन गरिएका अस्थायी मार्केटमा चहलपहल हुन थालेको महिना दिन अघिदेखि नै हो ।

डिसेम्बरदेखि नयाँ वर्ष जनवरीको पहिलो सातासम्मका लागि राखिने सान्ता क्लज (क्रिसमसका पिता), क्रिसमस ट्री र रंगीबिरंगी झिलिमिली बत्तीहरूको सजावट नै क्रिसमसको प्रमुख आकर्षक बन्ने गर्दछ । माइनस तापक्रम र हिमपातको समय भए पनि रंगीविरंग, झिलिमिली र मानिसको घुइँचोमा जाडोको खासै महसुस हुँदैन । विशेषगरि आकर्षक सजावटको दृश्यावलोकन, क्रिसमस बजारमा राखिने विभिन्न अन्तर्देशीय कुइजिनमा विदेशी पर्यटकहरू पनि उत्तिकै रमाउने गर्दछन् ।

लन्डनको क्रिसमस बजारमा राखिने ‘स्ट्रिट फुड’मा नेपाली परिकारले पनि केही वर्षयता स्थान पाउँदै आएको छ । ‘टेस्ट अफ नेपाल’ ले यतिखेर लन्डन ब्रिज छेउमा आफ्नो स्टलमार्फत नेपाली परिकारहरू मम, चाउमिन, हिमालयन थुक्पा, गोर्खा सुपलगायत परिकार बिक्री गरिरहेको छ । नेपाली स्वाद चाख्न बेलायती देखि चिनिया, भारतीयसहित अन्य विभिन्न मुलुकका नागरिकको पनि भीड लागेको देखिन्छ । १४ नोभेम्बरबाट सञ्चालित उक्त नेपाली स्टल १ जनवरी २०२४ सम्म रहने ‘टेस्ट अफ नेपाल’ ले जनाएको छ । लण्डनको टावर ब्रीजसंगैको थेम्स नदीको किनारमा खुलेका क्रिसमस बजारमा विश्व प्रसिद्ध स्ट्रिट फुडलगायत अन्य विभिन्न प्रकारका सामग्रीहरू राखिएका छन् । ‘टेस्ट अफ नेपाल’ ले विभिन्न मौलिक नेपाली परिकार पस्किएर नेपाली खानालाई विश्वभरका पर्यटकमाझ चिनाउने प्रयास गरिरहेको छ ।

यसै गरी क्रिसमसको अवसरमा हरेक वर्ष सञ्चालन हुँदै आएको ‘वीन्टर वण्डरल्याण्ड’ यस वर्ष पनि लन्डनको हाइड पार्क कर्नरमा चालु छ । उक्त विशाल क्रिसमस मेला १७ नोभेम्बरदेखि सुरु भएर नयाँ वर्ष २०२४ का दिन अर्थात जनवरी १ तारिखसम्म रहनेछ । सन् २००७ बाट सुरु भएको ‘वीन्टर वण्डरल्याण्ड’ ले यस पटक १६औँ वार्षिकोत्सव मनाएको छ । यसमा दिनहुँ बालबालिकादेखि वृद्ध वृद्धासम्म गरी हजारौँ मानिस पुग्ने गर्छन् ।

विश्वकै आकर्षक मानिने हाइड पार्कको खुला आकाशमुनि चउरमा रहेको उक्त मेलामा विभिन्न किसिमका स्टल, सर्कस, आइस सो, लाइभ म्युजिक, स्ट्रिट फुडलगायत थुप्रै बार रेस्टुरेन्ट खुलेका छन् । विशेष गरी केटाकेटीका लागि पनि लोकप्रिय बनेको ‘वीन्टर वण्डरल्याण्ड’ निकै आकर्षक छ ।

विश्वभर नै आ–आफ्नै तरिकाले धार्मिक र सांस्कृतिक उत्सवको रूपमा हर्ष, उल्लास र उमंगकासाथ मनाइने क्रिसमस पर्व इसाई धर्मावलीहरुका लागि मात्र नभई गैर इसाईहरुका लागि पनि उत्तिकै प्रिय बनेको छ । आफ्नो धर्ममा कट्टर मुस्लिम समुदायबिच पनि क्रिसमस पर्वले उत्तिकै रौनक छाएको छ ।

वास्तवमा भन्ने हो भने क्रिसमस पर्व बेलायतवासी (विशेष गरी विदेशी) हरूमाझ सुख दुःख बिसाउने चौतारीको रूपमा रहँदै आएको छ । एक आपसमा उपहार आदानप्रदान, खानपिन र आफन्तजनहरूसँग रमाउनु नै क्रिसमसको विशेषता हो । हामी नेपालीहरूको तुलनामा कमै पारिवारिक जमघट र आत्मीयता झल्किने उनीहरूको सुख दुःख साटासाट गर्ने तथा पारिवारिक मिलनको रूपमा स्थापित छ यो क्रिसमस । अपवादबाहेक धेरैजसोमा आफ्ना वृद्ध बाबाआमालाई क्रिसमसमा भेट्न जानुपर्छ भन्ने एउटा संस्कार नै बनिसकेको छ ।