इजरायल र हमासबिचको युद्ध अझै दुई महिना जारी रहने

इजरायल र हमासबिचको युद्ध अझै दुई महिना जारी रहने

कहिरन

इजरायली सेनाका एक पूर्व उपकमाण्डरले इजरायल र हमासबिचको युद्ध अझै दुई महिना जारी रहने दाबी गरेका छन् । उनले इजरायलले गाजालाई हमासबाट मुक्त गरिरहेको पनि बताए ।

गाजा डिभिजनका रिटायर्ड डेपुटी कमाण्डर अमिर अविवीले बीबीसी न्यूज आवरलाई भने, ‘हामी अहिले गम्भीर मोडमा छौँ । धेरै आतंकवादी आत्मसमर्पण गर्दैछन्।’

उनले भने, ‘एक वा दुई हप्ता भित्र आईडीएफले गाजा पट्टीको उत्तरी भाग पूर्ण रूपमा नियन्त्रण गर्नेछ। यो एकदमै सघन जनसंख्या भएको क्षेत्र हो। यो हमासको गढ हो तर भौगोलिक रूपमा यो गाजा पट्टीको २० प्रतिशत मात्र हो। तर यो महत्त्वपूर्ण सफलता हो।’

खान युनिस नजिकै भारी लडाई जारी रहेको अविवीले बताए । अभियानका बारेमा उनले भने, ‘इजरायलले गाजालाई हमासबाट मुक्त गराउँदैछ।’ हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । त्यसयता इजरायलले गाजामा हमासविरुद्ध अभियान चलाइरहेको छ।