इसराइलले लेबनानको राजधानी बेरूतलाई पनि गजाजस्तै बनाइदिने धम्की

इसराइलले लेबनानको राजधानी बेरूतलाई पनि गजाजस्तै बनाइदिने धम्की

कहिरन

इसराइलले लेबनानको राजधानी बेरूतलाई पनि गजाजस्तै बनाइदिने धम्की दिएको छ।

हिजबुल्लाहका नेता हसन नसरल्लाहको अभिव्यक्तिबारे बोल्दै इसराइलका रक्षामन्त्री योआव गालान्टले बेरूतलाई पनि गजाजस्तै बनाइदिने चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ।

हिजबुल्लाहका नेता हसन नसरल्लाहले शनिबार एक टेलिभिजन सम्बोधनमा इसराइलविरूद्ध आक्रमण बढाइएको दाबी गरेका थिए।

‘दक्षिणी लेबनानबाट इसराइलमाथिको आक्रमण जारी रहन्छ। गजामा भइरहेको इसराइल-हमास युद्धमा प्यालेस्टाइनी नागरिकहरूको समर्थनमा आक्रमण जारी रहनेछ,’ उनले भनेका थिए।

त्यस्तै पछिल्लो एक सातायता इसराइलमाथि ड्रोन र विमानसहित शक्तिशाली मिसाइलहरू पनि प्रहार गरिएको बताएका थिए । उनले इस्लामी देशहरू इजराइलविरूद्ध एकजुट हुनुपर्ने पनि बताए।

शनिबार साउदी अरबको राजधानी रियादमा भएको इस्लाम तथा अरब देशहरूको आपतकालीन सम्मेलनले इसराइललाई तत्काल संघर्षविराम गर्न अपिल गरेको बिबिसीले जनाएको छ।

हिजबुल्लाहका नेताको अभिव्यक्तिको जवाफमा रक्षामन्त्री गालान्टले हिजबुल्लाह गम्भीर गल्तिको नजिक रहेको चेतावनी दिए।

‘यसको नराम्रो परिणाम ब्यहोर्नुपर्छ। यसको असर लेबनानका नागरिकहरूले ब्यहोर्नेछन्। गजामा जे गरिरहेका छौं, बेरूतमा त्यस्तै कसरी गर्ने भन्ने हामीलाई थाहा छ। बेरूतको पनि त्यस्तो हालत हुन्छ जस्तो अहिले गजाले ब्यहोरिरहेको छ,’ गालान्टको भनाइ उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।