भारतको राजधानी दिल्लीमा कृत्रिम वर्षा गराउने तयारी

भारतको राजधानी दिल्लीमा कृत्रिम वर्षा गराउने तयारी

कहिरन

भारतको राजधानी दिल्लीमा कृत्रिम वर्षा गराउने तयारी भइरहेको छ । मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले प्रदूषण भयावह बनेका कारण नियन्त्रणका लागि कृत्रिम वर्षाको योजना बनाएको हो ।

दिल्ली सरकारका पर्यावरण मन्त्री गोपाल रायले बुधबार आईआईटी कानपुरको टिमसँग बैठक आयोजना गरेका थिए । बैठकपछि रायले भने, ‘सबै कुरा ठिक रह्यो र अनुमति मिल्यो भने २१ र २२ नोभेम्बरका दिन कृत्रिम वर्षा गराइनेछ ।’

पछिल्ला दिनमा दिल्लीको हावा प्रदूषित भएको छ । त्यहाँ एयर क्वालिटी इन्डेक्सको स्तर ५०० नाघेको बताइन्छ ।

वर्षाले कम हुन्छ प्रदूषण ?

कम वर्षाकै कारण दिल्लीको हावा प्रदूषित भएको आकलन गरिएको छ । सेप्टेम्बरमा मनसुन सकिएपछि वर्षा नभएका कारण हावामा प्रदूषणकारी तत्त्व जम्मा भएको विज्ञहरू बताउँछन् । अक्टोबरमा दिल्लीमा नाम मात्रको वर्षा भएको थियो ।

अक्टोबर २०२१ मा १२३ मिलिमिटर वर्षा भएको दिल्लीमा अक्टोबर २०२२ मा १२९ मिलिमिटर वर्षा भएको थियो । तर अक्टोबर २०२३ मा दिल्लीमा ५.४ मिलिमिटर मात्र वर्षा भएको थियो ।

कसरी हुन्छ कृत्रिम वर्षा ?

कृत्रिम वर्षा ‘क्लाउड सिडिङ प्रविधि’ मार्फत गराइन्छ । आईआईटी कानपुरका विज्ञहरू सन् २०१७ देखि नै क्लाउड सिडिङ प्रविधिमार्फत कृत्रिम वर्षा गराउने योजनामाथि काम गर्दै आएका थिए ।

यस वर्षको जुन महिनामा आईआईटी कानपुरले उक्त प्रविधिमा सफलता हात पारेको बताइन्छ । परीक्षणका क्रममा एउटा सानो विमानलाई पाँच हजार फिटको उचाइमा उडाइएको थियो । सोही विमानबाट क्लाउड सिडिङ प्रविधिअनुसार बादलमा रासायनिक पाउडर छर्किएको थियो, जसबाट वर्षा भएको थियो ।

क्लाउड सिडिङ के हो ?

क्लाउड सिडिङ प्रविधिमाथि १९४० कै दशकदेखि काम गर्न थालिएको थियो । भियतनाम युद्धमा अमेरिकाले क्लाउड सिडिङ प्रविधिलाई हतियार बनाएको आरोप छ । उक्त युद्धमा अमेरिकाले कृत्रिम वर्षा गराएर जमिनलाई दलदल बनाइदिएको र भियतनामको ‘सप्लाइ चेन’ बिगारिदिएको आरोप लाग्दै आएको छ । तर यसबारे ठोस प्रमाण भने जुटिसकेको छैन ।

क्लाउड सिडिङ मौसममा परिवर्तन गराउने एउटा प्रविधि हो । जसबाट कृत्रिम रूपमा वर्षा गराउन सकिन्छ । यो प्रविधिमा सानो आकारका विमानलाई बादलको बिचमा उडाएर सिल्भर आयोडाइड, ड्राई आइस र क्लोराइड छर्किने गरिन्छ । जसले गर्दा बादलमा पानी जम्न थाल्छ र त्यही पानी वर्षा बन्दछ ।

चीनमा हुन्छ कृत्रिम वर्षा

चीनको राजधानी बेइजिङ विश्वका प्रदूषित सहरमध्ये एक हो । यहाँ प्रदूषण कम गर्न कृत्रिम वर्षा गराइन्छ ।

सन् २००८ मा बेइजिङ ओलम्किका क्रममा वर्षाले खेल अवरुद्ध नहोस् भन्ने उद्देश्यका साथ चीनले ‘वेदर मोडिफिकेसन सिस्टम’ प्रयोग गरेर पहिला नै वर्षा गराएको थियो । यस अतिरिक्त जापान, युएई जस्ता मुलुकले पनि यस प्रकारको अभ्यास गरिसकेका छन् ।