जन्मदिनको उपहारस्वरूप दिइएको ग्रिनेड विस्फोट

जन्मदिनको उपहारस्वरूप दिइएको ग्रिनेड विस्फोट

कहिरन

जन्मदिनको उपहारस्वरूप दिइएको ग्रिनेड विस्फोट हुँदा युक्रेनी सैनिकका प्रमुख भ्यालेरी ज्यालुज्नीका सहयोगीको मृत्यु भएको छ।

ज्यालुज्नीका सहयोगी मेजर गेनेडी चास्त्यकोभको सोमबार जन्मदिन थियो। जन्मदिनको कार्यक्रममा सहभागी हुन आएका एक साथीले दिएको ग्रिनेड विस्फोट हुँदा उनको मृत्यु भएको युक्रेनका आन्तरिक मन्त्रीलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।

घटनाबारे अनुसन्धान भइरहेको आन्तरिक मन्त्री ल्होर क्लिमेन्कोले टेलिग्राममार्फत जानकारी दिएका छन्।

ज्यालुज्नीले पनि घटनाको पुष्टि गर्दै मृत्यु भएका गेनेडी आफ्नो अत्यन्त मिल्ने साथी रहेको बताएका छन्।

युक्रेनका आन्तरिक मन्त्रालयका अनुसार सोमबार जन्मदिन मनाइरहँदा गेनेडीलाई एउटा बक्स उपहार दिइएको थियो। त्यसमा एक बोत्तल मदिरा र ६ वटा ग्रिनेड थियो।

आगन्तुकहरूबाट उपहार संकलन गरिरहेका गेनेडीका साथमा उनका १३ वर्षीय छोरा पनि थिए। प्राप्त भएको उपहार गेनेडीका छोराले खोलेर हेरे जसमा ग्रिनेड थियो। उनले बक्सबाट ग्रिनेड निकालेर त्यसको रिङमा औंला राखेर घुमाउन थाले।

उपहारमा ग्रिनेड रहेको र त्यसलाई छोराले झिकिसकेकोबारे गेनेडी अनभिज्ञ थिए। छोराले ग्रिनेडको रिङमा औंला राखेर घुमाएको देखेपछि आत्तिँदै उनले छोराबाट ग्रिनेड खोसे। छोराबाट खोस्ने क्रममा ग्रिनेडबाट रिङ छुटेपछि विस्फोट भएको मन्त्री क्लिमेन्कोले बताएका छन्।

विस्फोटमा परी गेनेडीको घटनास्थलमै मृत्यु भएको र उनका १३ वर्षीय छोरा गम्भीर घाइते भएका छन्। उनको उपचार जारी रहेको किएभका क्षेत्रीय प्रहरीलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।

मन्त्री क्लिमेन्कोले सिएनएनलाई बताएअनुसार घटनाको अनुसन्धानका क्रममा प्रहरीले गेनेडीलाई उपहारस्वरूप दिइएकै प्रकृतिको ग्रिनेड उनका एक साथीसँग भेटेको छ।

प्रहरीले यसमा अनुसन्धान भइरहेको बताएपनि युक्रेनी गृह मन्त्रालयले प्रारम्भिक जानकारीका आधारमा यसलाई दुर्घटना भनेको छ।

‘हामीले पाएको जानकारी अनुसार यसलाई लापरबाहीका कारण भएको दुर्घटना मान्न सकिन्छ,’ युक्रेनका आन्तरिक मन्त्रालयकी प्रवक्ता मारियाना रेभाले भनिन्। घटनास्थलबाट जुट्ने प्रमाणहरूका आधारमा कुन प्रकृतिको मुद्दा लाग्छ भन्ने निर्धारण हुने बताइन्।

विस्फोटमा उनको मृत्यु भएपछि सैनिक कमान्डर ज्यालुज्नीले गेनेडी आफ्ना लागि एक बलियो काँध रहेको बताएका छन्। गेनेडीले आफ्नो जीवन युक्रेनको सशस्त्र बल र रूसी आक्रमणविरूद्ध लड्न पूर्ण रूपमा समर्पित गरेको पनि ज्यालुज्नीले टेलिग्राममा लेखेका छन्।

गेनेडीका पत्नी र चार छोराछोरी थिए। दुर्घटनामा छोरीलाई पनि सामान्य चोट लागेको र उनीहरूको उपचार भइरहेको मन्त्रालयकी प्रवक्ता रेभालाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।