मणिपालका डाक्टर कुट्ने २ जना थुनामा, ७ जना धरौटीमा रिहा

मणिपालका डाक्टर कुट्ने २ जना थुनामा, ७ जना धरौटीमा रिहा

भीम विश्वकर्मा

काठमाडौँ । मणिपाल अस्पताल तोडफोडमा संलग्न दुइ जनालाई जिल्ला अदालत कास्कीले पूर्पक्षको लागि थुनामा पठाएको छ । अन्य ७ जना धरौटीमा रिहा भएका छन् ।

गत ८ गते भएको अस्पताल तोडफोडमा पक्राउ परेका पोखरा १७ हनुमान टोलका छावा भन्ने सुशील कार्की र पोखरा ५ मालेपाटनका विनय गुरुङलाई थुनामा पठाइएको कास्कीका डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

पोखरा ४ का सञ्जय पीडित भनिने सुजित मुल्मी, पोखरा ५ का अभिनाश गुरुङ, सोही वडाका अरुण गुरुङ, पोखरा ९ का नितेश गुरुङ, ९ कै विवेक गुरुङ, पोखरा २० का मनिष थापा र पोखरा ११ का प्रदीप गुरुङलाई प्रतिव्यक्ति १ लाख धरौटीमा रिहा गरिएको छ ।

उनका अनुसार अस्पताल तोडफोडमा संलग्न १० भन्दा बढी व्यक्तिहरु अझै फरार रहेका छन् । यही असोज ७ गते लमजुङ सुन्दरबजारकी ५७ वर्षकी सुकुमाया दुराको उपचचारकै क्रममा मृत्यु भएपछि उनका आफन्त चिकित्सकमाथि आक्रमणमा उत्रिएका थिए । सोही घटनामा कास्की प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको थियो ।

हेटौंडाको अस्पतालमा डाक्टर कुट्ने ६ जना भने अदालतको आदेश अनुसार धरौटी रकम बुझाएर छुटेका छन् । जिल्ला अदालत मकवानपुरका न्यायधीश राजेन्द्र अधिकारीको इजलासले प्रहरी नियन्त्रणमा रहेका रमा प्रधानलाई दुई लाख ५० हजार तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रिनलाई जनही दुई लाखका दरले धरौटी लिएर छाड्न आदेश दिएको थियो ।