मंकीपक्सको संक्रमण देखिएपछि १४ अस्पतालमा फोकल पर्सन तोकियो

मंकीपक्सको संक्रमण देखिएपछि १४ अस्पतालमा फोकल पर्सन तोकियो

कहिरन समाचार

काठमाडौं । नेपालमा पहिलो पटक एमपक्स अर्थात मंकीपक्स भाइरस संक्रमणको बिरामी भेटिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ अस्पतालमा फोकल पर्सन तोकेको छ । मन्त्रालयका अनुसार केही दिनअघि नेपाल आएकी एकजना ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको हो ।

उक्त विदेशी महिला ज्वरो सहित मंक्किपक्स जस्तै लक्षण देखिएपछि चिकित्सकको सम्पर्कमा पुगेकी थिइन । लक्षण सबै मिल्दोजुल्दो देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनमा मंक्किपक्स पुष्टि भएको मन्त्रालयका स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र का प्रमुख तथा सह प्रवक्ता डा. समीर अधिकारीले बताए ।

उनका अनुसार नेपालमा मंक्किपक्स संक्रमण पुष्टि भएसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित देशभरका १४ अस्पतालमा फोकल पर्सनको रुपमा चिकित्सकहरुलाई जिम्मेवारी दिइसकेको समेत बताए ।

‘पहिलोपटक हाम्रोमा मंक्किपक्स भाइरसको बिरामी पुष्टि भएको छ । अहिले उहाँ काठमाडौंकै एक अस्पतालमा चिकित्सकको निगरानीमा रहनु भएको छ’ डा. अधिकारीले भने, ‘पहिलोपटक यो संक्रमण देखिए पछि हामीले हाल काठमाडौं उपत्यका अस्पताल सहित देशभरका १४ वटा अस्पतालमा फोकल पर्सनको रुपमा चिकित्सकलाई तोकि सकेका छौँ ।‘

संक्रमणको जोखिम हेरेर मन्त्रालयले थप रणनीति बनाउँदै जाने उनले बताए । मन्त्रालयले मंकीपक्सको शंका लागेमा १११५ वा ११३३ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

एमपक्स रोगका लक्षण
मंकीपक्स भाइरसको संक्रमण भएमा ज्वरो आउने, सामान्य ज्वरो शुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको ढाड र मांसपेशी दुख्ने, शरीरका ग्रन्थि बढ्ने लक्षण देखिन्छ ।

यो सामग्रीको प्रत्यक्ष सम्पर्क, संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ । एमपक्स रोग लागेमा आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्छ ।

एमपक्स रोगबाट बच्ने उपाय
-मंकीपक्स जस्तो देखिने दाग भएका व्यक्तिसँग नजिकको (छाला–छालाको) सम्पर्कबाट टाढा रहनुपर्दछ ।
-संक्रमितको दाग वा घाउलाई नछुने ।
-संक्रमित व्यक्तिसँग चुम्बन, अँगालो र यौनसम्पर्क नगर्ने ।
-मंकीपक्स भएका व्यक्तिले प्रयोग गरेको वस्तु र सामग्री नछुने ।
-संक्रमित व्यक्तिसँग खाने र भाँडाकुँडा साझा नगर्ने ।
-संक्रमित व्यक्तिको ओछ्यान, तौलिया वा लुगा प्रयोग नगर्ने वा नछुने ।
-साबुनपानीले हात धुने वा अल्कोहलमा आधारित ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने (विशेषगरी खाना खानुअघि वा आफ्नो अनुहार छोएपछि वा शौचालय प्रयोग गरेपछि) ।
-मंकीपक्स भाइरस फैलाउन सक्ने जनावर जस्तै मुसा र प्राइमेटहरूको सम्पर्कबाट टाढा रहने । साथै, बिरामी वा मरेका -जनावर, ओछ्यान वा तिनीहरूले छोएका अन्य सामग्रीबाट जोगिने ।