नेपालमा पहिलो पटक मंकीपक्सको संक्रमण देखियो

नेपालमा पहिलो पटक मंकीपक्सको संक्रमण देखियो

कहिरन समाचार

काठमाडौं । नेपालमा पहिलो पटक मंकीपक्सको संक्रमण देखिएको छ । एक जनामा एमपक्स अर्थात मंकीपक्सको लक्षण देखिएर परीक्षण गर्दा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विदेशी नागरिकमा मंकीपक्स देखिएको बताए । मन्त्रालयका अनुसार उनी काठमाडौंको एक अस्पतालमा चिकित्सकको निगरानीमा उपचाररत छन् । नेपालमा पहिलो पटक भेटिएको यो संक्रमण हालसम्म  १११ देशमा पुष्टी भइसकेको छ ।

एमपक्स रोग अर्थोपोक्स भाइरस जेनसरपोक्सभिरडे फ्यामलीको मंकीपक्स भाइरसबाट हुने संक्रामक रोग हो । विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग मानिसबाट मानिस वा जनावरबाट मानिसमा सर्छ ।

बिफरको उन्मुलनपछि सन् १९९० मा मध्य पूर्वी र पश्चिम अफ्रिकामा यसको संक्रमण देखिएको थियो । सन् २०२२ र २०२३ मा यसले विश्वब्यापी प्रकोपको रुप लिएको थियो । यो भाइरस सार्ने स्रोतबारे एकीन जानकारी नभए पनि लोखर्के र बाँदर यस रोगका लागि संवेदनशील हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, मंकीपक्स भाइरसको संक्रमण हुँदा ज्वरो आउने, ज्वरो आएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको डाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थी बढ्ने हुन्छ । यसले आँखामा संक्रमण भइ दृष्टी गुम्ने, निमोनिया, मष्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्छ ।

यसको रोकथामका लागि एमपक्सको शंका वा पुष्टि भएको व्याक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा आइसोलेशनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने विश्व स्वास्थ्य संगठनले सुझाएको छ । त्यस्तै, संक्रमितको घाउसँग प्रत्यक्ष सम्पर्क हुँदा जोखिम हुने भएकाले पञ्जा लगाउने, नियमित रुपमा साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, संक्रमित व्यक्तिको लुगा, तौलिया, ओछ्यान र भाँडाकुँडा तातो पानी, साबुन वा डिटर्जेन्टले धुने गर्नुपर्छ ।

स्वास्थ्य संगठनका अनुसार,  मंकीपक्सको संक्रमण पुष्टी भइ बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, संक्रमितको सम्पर्कमा आएको व्यक्तिले परीक्षण गर्ने, संक्रमितको सम्पर्कमा आएको सतह स्थान वा कोठा डिटर्जेन्टले निसंक्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने, फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्नुपर्छ ।