बागलुङमा बढ्दै एचआइभी संक्रमितको दर

बागलुङमा बढ्दै एचआइभी संक्रमितको दर

कहिरन समाचार

बागलुङ । जिल्लामा पछिल्लो समय एचआइभी संक्रमितको संख्या बढ्दै गएको छ । गत वर्षको तुलनामा यस वर्ष संक्रमितको पहिचान हुने दर बढ्दै गएको हो । जिल्लामा हाल कुल एक सय ८१ जना सक्रिय संक्रमित रहेका छन् ।

गत वर्षको असार मसान्तसम्म कुल एक सय ६९ संक्रमित रहेकामा यस आर्थिक वर्षको फागुन मसान्तसम्म १२ जना संक्रमित बढेको धौलागिरि अस्पताल एआरटी सेन्टरका प्रमुख प्रदीप आचार्यले जानकारी दिए । संक्रमितमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा ८९ जना रहेका छन् भने सबैभन्दा कम बरेङ गाउँपालिकमा एकजना रहेका छन् ।

एआरटी सेन्टरको तथ्यांकअनुसार काठेखोला गाउँपालिकामा २२ जना संक्रमित रहेका छन् भने ताराखोला गाउँपालिकामा सातजना संक्रमित रहेका छन् । त्यस्तै, निसीखोलामा ६ जना, तमानखोलामा तीनजना, बडिगाडमा १० जना, ढोरपाटन नगरपालिकामा पाँचजना, गलकोट नगरपालिकामा १९ जना र जैमिनी नगरपालिकामा १६ जना रहेको एआरटी प्रमुख आचार्यले जानकारी दिए ।

जिल्लाभित्र बसोवास गर्ने र अन्य जिल्ला ठेगाना भएका तीनजना संक्रमित रहेका छन् । संक्रमितमध्ये पुरुषभन्दा महिला नै बढी रहेका छन् । जिल्लामा कुल ७९ जना पुरुष संक्रमित रहेका छन् भने ९६ जना महिला संक्रमित रहेका छन् । यहाँ रहेको एचआइभी संक्रमितको क्षेत्रमा काम गर्ने धौलागिरि पजिटिभ समूहमार्फत २१ जना बालबालिकाले सेवा लिएका छन् । जसमा बागलुङका ६ जना रहेका छन् भने अन्य छिमेकी जिल्लाका बालकालिका रहेको धौलागिरी पजिटिभ समूहका अध्यक्ष चन्द्रबहादुर खत्रीले जानकारी दिए ।

संस्थाले सञ्चालन गरेको कावा कार्यक्रमअन्तर्गत संक्रमित बालबालिकाका लागि मासिक एक हजार रुपैयाँ सहयोग गर्दै आएको छ । संक्रमित बालबालिकाको पोषण र अन्य सुविधाका लागि संस्थाले राष्ट्रिय एचआइभी तथा एड्स महासंघ नेपाल साझेदारीमा सेभ द चिल्ड्रेन र ग्लोबल फन्डको सहयोगमा कावा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

एचाइभी एड्सको न्यूनीकरणका निम्ति स्वास्थ्य कार्यालय, धौलागिरि अस्पताल, एआरटी सेन्टर, धौलागिरि पजिटिभ समूह र एड्स हेल्थ केयर फाउन्डेसन तथा स्थानीय तहले नियमित क्रियाकलाप गर्दै आएका छन् । संघीयता लागू भएसँगै सबै अधिकार स्थानीय तहमा गएपश्चात् एचआइभी एड्स न्यूनीकरणका काम कम हुन लागेको पीडितहरूको गुनासो रहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये अहिलेसम्म चारवटा स्थानीय तहले मात्र केही कार्यक्रमका लागि सहयोग गरेको खत्रीले बताए ।