सबै स्थानीय तहलाई स्वयंसेविका समिति गठन गर्न निर्देशन

सबै स्थानीय तहलाई स्वयंसेविका समिति गठन गर्न निर्देशन

कहिरन समाचार

काठमाडौँ । सरकारले प्रत्येक स्थानीय तहलाई स्वयंसेविका समिति गठन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीय तहलाई स्वयंसेविका समिति गठन गर्न निर्देशन दिएको हो ।

मन्त्रालयको स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले पत्र जारी गर्दै सम्पूर्ण स्थानीय तहलाई उक्त प्रक्रियामा समन्वय गर्न निर्देशन दिएको छ ।

जारी भएको सर्कुलरमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति २०६७ (पहिलो संशोधन २०७६) को अनुसूची ४ र ५ ले व्यवस्था गरेबमोजिमको प्रदेशस्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समिति तथा स्थानीय तहमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समिति गठन गर्न भनेको छ ।

साथै प्रदेश मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, स्थानीय तह र मातहतको स्वास्थ्य संस्थामा समेत राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमको फोकल पर्सन तोकी बुझाउन निर्देशन दिइएको छ ।