निर्मला पन्त हत्याबारे अनुसन्धान गर्न डीआईजी दुर्गा सिंह कञ्चनपुरमा
निर्मला पन्त हत्याबारे अनुसन्धान गर्न डीआईजी दुर्गा सिंह कञ्चनपुरमा
कहिरन समाचार
१७ पुस २०८१, बुधबार
निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानविन र अनुसन्धान गर्न गठन गरिएको समितिले काम थालेको छ । पुस १५ मा गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो । समितिकी संयोजक सिंहले कञ्चनपुर पुगेर काम थालेकी छिन् । समितिमा सिआईबीमा कार्यरत एसपी कमल थापा, मनोचिकित्सक डा. राजेश दत्त र इन्स्पेक्टर हिरेन्द्र रोकाया सदस्य छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानविन गर्ने पहिलो निर्णय गरेका थिए ।समिति गठन हुँदा बिदामा रहेकी सिंह बिदा छोट्याएर कञ्चनपुर पुगेकी हुन् । २०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको हत्या भएको थियो । १३ वर्षीया पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ गरिएका विष्ट डीएनए नमिलेपछि रिहा भएका थिए । निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले दिलिपसिंह विष्टलाई समातेर सार्वजनिक गरेको थियो । २०७५ भदौ २६ मा जिल्ला अदाललते संलग्नता पुष्टि गर्ने आधार नभएको र डीएनए म्याच नभएको भन्दै विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको थियो । अनुसन्धान समितिको संयोजक तोकिएकी सिंहले त्यतिवेला पनि सो घटनाको अनुसन्धान गरेकी थिइन् ।
प्रतिक्रिया