शरणार्थी प्रकरणमा हाइप्रोफाइलको लहरो, जोगाउन नेताहरुको दौडधुप

शरणार्थी प्रकरणमा हाइप्रोफाइलको लहरो, जोगाउन नेताहरुको दौडधुप

कहिरन समाचार

काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा हाइप्रोफाइल पक्राउ परेका छन् । केही हाइप्रोफाइलविरुद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जि जारी गराएको छ । गम्भीर फौजदारी कसुरको आरोप लागेका आफ्नो पार्टीका सांसद तथा पदाधिकारीलाई जोगाउन पार्टी अध्यक्षले नै दौडधुप सुरु गरेका छन् ।

आफ्नै देश फर्कन नेपाल सरकारसँग गुहार मागेका भुटानी शरणार्थीलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा तेस्रो देश पुर्नवास गराइएको थियो ।

तेस्रो देश पुर्नवास हुन बाँकी शरणार्थीका नाममा नेपाली नागरिकसँग मोटो रकम असुलेर अमेरिका पठाउने गिरोहमा टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जि जारी भएपछि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली शक्ति केन्द्र धाउन थालेका छन् ।

ओलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण नै गराएको बताएका छन् । ओलीले उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई प्रहरीले बाटोबाटै समातेर हत्कडी लगाउन खोजेको भन्दै सो घटना रहस्यमय रहेको आरोप लगाए ।

उनले प्रचण्डसँग भेटपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै ओलीले निर्दोष फसाउन खोजे नसहने चेतावनी नै दिए । ‘यो तानिएको हो कि समाएको हो हामी अध्ययन गर्दै छौं । अध्यनपछि निष्र्कष ल्याउँछौं । निर्दोष पर्नु हुदैन, दोषी छुट्नु हुदैन । दोषी उम्काउने हाम्रो प्रयास हुदैन । निर्दोष फसाउन खोजे हामी सहदैनौं’, उनले भने ।

नक्कली भुटानी शरणार्थी बनाई ठगी गरेको आरोपमा पक्राउ परेका एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । पक्राउ पुर्जि जारी गरिएका एमाले नेता एवं सांसद रायमाझीबारे भने प्रहरीले केहि बताएको छैन ।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिलेसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका छन् । उनीहरुले कूल २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

गिरोहले विसं २०७७ देखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको खुलेको छ । अझै पनि १०/११ जना पक्राउ पर्ने अनुशन्धानका क्रममा देखिएको रिजालले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायाण पाण्डेले हिजो प्रहरी परिसरमा आत्मसर्मपण गरेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहका इन्द्रजित राई बैशाख १९ गते पक्राउ परिसकेका छन् । सरकारले सचिव पाण्डेलाई जगेडामा राख्ने निर्णय गरिसकेको छ ।

घटनामा मुख्य आरोपी मानिएका केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ गत चैत १२ गते पक्राउ परेका थिए । त्यसको केही दिनपछि सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परेका थिए । उनीहरूकै बयानका आधारमा गृहका अधिकारी र उच्च राजनीतिक नेतृत्व संलग्न भएको तथ्य बाहिर आएको अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।