बलात्कार मुद्दामा पल शाहलाई सफाइ, बालयौन दुरुपयोगमा दोषी ठहर

बलात्कार मुद्दामा पल शाहलाई सफाइ, बालयौन दुरुपयोगमा दोषी ठहर

कहिरन समाचार

नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाइ पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाइ दिएका हुन् ।

बलात्कारको मुद्दाबाट सफाइ पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ । दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

फैसलामा पीडित नाबालिकाको अभिभावक र सञ्चारमाध्यमलाई पनि सचेत गराइएको छ । उमेर नपुगेकी आफ्नी नाबालिग छोरी घरबाहिर हुँदा अभिभावक साथमा नरहेको पाइएको कारण अभिभावकीय जिम्मेवारी पूरा नगरेकामा सचेत समेत गराइएको छ । साथै सञ्चारमाध्यमले पीडितको पहिचान खुल्ने गरी समाचार प्रकाशन तथा प्रसारण गरेको कारण पीडितको वैयक्तिक गोपनीयतामा क्षति पुगेको कारण त्यसतर्फ सचेत भइदिन आग्रह गरिएको छ ।

नवलपुर जिल्ला अदालतबाट सफाइ पाएपनि शाहको मुद्दा तनहुँ जिल्ला अदालतमा समेत विचाराधीन अवस्थामै रहेको छ । तनहुँ जिल्ला अदालतबाट समेत सफाइ पाएको अवस्थामा र नवलपुर जिल्ला अदालतले तोकेको जेल सजाय काटेपछि भने उनी थुनामुक्त हुन सक्नेछन् ।