बीटीएस ब्यान्डका चार सदस्य सैन्य सेवामा भर्ना

बीटीएस ब्यान्डका चार सदस्य सैन्य सेवामा भर्ना

कहिरन

एजेन्सी । दक्षिण कोरियाली पप ब्यान्ड बीटीएसका लिड भोकलिष्ट जङ कुकसहित ब्यान्डका अन्य तीन सदस्यहरुको नाम मंगलबार सैन्य सेवाका लागि सूचीकृत भएको छ । दक्षिण कोरियामा हरेक युवाले १८ वर्ष देखि २८ वर्षको बिचमा २ वर्ष जति घरेलु सेनामा भर्ना भएर देशको सेवा गर्नु पर्छ ।

चार हप्ता अगाडि अवस्था अर्कै थियो कुक न्यूयोर्कमा करियरकै पहिले सोलो कन्सर्टमा व्यस्त थिए । जिम्मी फ्यालनको टूनाइट शोमा पनि गए । केही हप्ता अघि उनले जष्टिन टिम्बरलेक र असरसँगको सहकार्यमा आफ्नो गीत पनि निकाले ।

उनको डेब्यु एल्बम गोल्डन कयौँ म्युजिक चार्टमा हिट बन्यो । उनको गीत टिकटकको ट्रेन्डिङमा पनि आयो । स्टारडमको शिखरमा पुग्दै गर्दा झ्याप्प ब्रेक लाग्यो । उनी फेरि सोल नै फर्किनु पर्‍यो । सेनामा भर्ना हुन ब्यान्डका अन्य तीन जना सदस्यहरूलाई पछ्याउँदै कुक र बीटीएसका अन्य तीन जना सदस्य सेनामा भर्ना हुँदैछन् । १८ महीनासम्म यिनीहरु सेनामा रहनेछन् ।

बीटीएस दक्षिण कोरियाले विश्व सङ्गीतलाई दिएको सबैभन्दा ठूलो उपहार हो । बीटीएसको लोकप्रियताकै कारण कोरियाली संसदले सेनामा अनिवार्य सेवाको अवधिलाई पछाडि धकेलेर बीटीएसका लागि ३० वर्षको उमेरसम्म पुर्याएको थियो । बीटीएसका एक जना सदस्यबाहेक सबैको उमेर २८ वर्षभन्दा कम छ ।

ब्यान्डका समर्थक केही मन्त्रीहरूले बीटीएसले अर्बौ डलर देशको लागि कमाइदिएर देशको सेवा गरिसकेको तर्क पनि दिएका थिए । तर सेनामा अनिवार्य भर्तीलाई टार्नै नसक्ने स्थिति आएपछि ब्यान्डले गएको वर्ष नै सदस्यहरूलाई आफ्नो एक्लो प्रोजेक्टलाई अगाडि बढाउने अनुमति पनि दिएको थियो ।

आफ्नो मन पर्ने के–पप ब्यान्डलाई केही समय सुन्न नपाउने भएपछि सामाजिक सञ्जालहरुमा बीटीएसका फ्यानहरुले दुःख मनाउ गरिरहेका छन् । यूएस आईट्युन्सको चार्टमा ६ वर्ष अधिको बीटीएसको कम चर्चित गीत स्प्रिङ्ग डे अचानक शीर्ष १ मा आएको थियो ।

बीटीएस सन् २०२५ मा मात्रै पुनः दर्शक र श्रोतामाझ फर्किने आशा गरिएको छ । बीटीएसको अनुपस्थितिले अन्य के–पप ब्यान्डहरुले मौलाउने अवसर पाउनेछन् ।