नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११ औँ संस्करण सुरु

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११ औँ संस्करण सुरु

कहिरन

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११ औँ संस्करण सुरु भएको छ । शनिबार नेपाल पर्यटन बोर्डको हलमा आयोजित एक कार्यक्रमबिच राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महोत्सवको उद्घाटन गरे ।

समारोहमा बोल्दै उनले मानव अधिकारको संरक्षण, सम्बद्र्धन र प्रवर्द्धनका लागि फिल्म प्रभावकारी माध्यम बन्ने बताए । ‘फिल्म शिक्षा प्रदान गर्ने प्रभावकारी माध्यम हो ।

‘फिल्मले मानव अधिकार सुरक्षित गर्न, प्रवर्द्धन गर्न र जगरुता सिर्जना गर्न सहयोग गर्छ । समाजमा बालबालिकाको अपहरण, महिला हिंसा, जातीय विभेद जस्ता अपराध शृंखला रोकिएका छैनन्  । जसको संरक्षण र प्रवर्द्धनमा फिल्म प्रभावकारी माध्यम बन्न सक्छ’, उनले भने । मानव अधिकार मैत्री समाज निर्माणको लागि मानव अधिकारको विषयमा फिल्म बन्नुपर्ने धारणा उनको थियो ।

कार्यक्रममा मानव अधिकार  चलचित्र केन्द्रका अध्यक्ष विष्णु खत्रीले कलाका विभिन्न विधामा अध्ययन, अनुसन्धान, शिक्षा, संवाद र नीतिगत पैरवीसँग सम्बन्धित अभियानहरू मानव अधिकार चलचित्र केन्द्रले आफ्नो स्थापना कालदेखि नै नियमित गर्दै आएको बताए । ‘चलचित्र, भिडियो र कलाका विभिन्न विद्याहरू मानव अधिकार शिक्षा र मानव अधिकारसँग सम्बन्धित सवालहरूको उठानमा प्रभावकारी माध्यम बन्न सक्छन् भन्ने विश्वासका साथ वार्षिक रूपमा मानव अधिकार चलचित्र महोत्सवको आयोजना गर्दै आइरहेका छौँ’ उनले महोत्सवको उद्देश्य प्रस्ट पारे ।

महोत्सवमा विश्वभरबाट खुल्ला आवेदनबाट सङ्कलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित  २७ देशका ५४  वटा चलचित्रहरू देखाइने महोत्सवका अध्यक्ष अरुणदेव जोशीले बताए ।

महोत्सवमा नेपाल लगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्याण्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्कि, क्रोएसिया, इटली, अयारल्याण्ड, किर्जिस्तान, जर्जिया, पोल्याण्ड, ताजिकिस्तान, नर्वे, युक्रेन, बङ्गलादेश र भारतबाट प्राप्त मानवअधिकारका विषयमा निर्मित चलचित्र तथा वृत्तचित्रहरू प्रदर्शन गरिनेछ ।

महोत्सवको उद्घाटनमा सुभांगी खड्काको वृत्तचित्र ‘द एज अफ लर्निङ’ प्रदर्शन देखाइयो । गोर्खाली तक्मा ब्यान्डले साङ्गीतिक प्रस्तुति पनि दिएको थियो । सामूहिक नारासहित  आयोजना सुरु भएको महोत्सवमा मङ्सिर २६ सम्म नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ ।

महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई रहेका छन् । महोत्सवमा जुरीबाट छनौट भएका उत्कृष्ट पाँच चलचित्रहरूलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय शर्ट फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगद सहित पुरस्कार प्रदान गरिने छ । त्यस्तै महोत्सवमा एक जना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ ।

महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबिचको बहस हुनेछ । यस वर्ष महोत्सवमा ‘सिनेमा विकासको लागि राजनीतिक प्रतिबद्धता’ र ‘सामूहिक अधिकार : अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीरबीच दुई ओटा प्यानल छलफल पनि राखिएको छ । साथै महोत्सवमा मानव अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि राखिएको छ । महोत्सवको समापन समारोहमा बेलायतको एल्हम एहसासको सर्ट फिल्म ‘येल्लो’ प्रदर्शन हुनेछ । समापन समारोह मङ्सिर २६ गते काठमाडौँको नेपाल पर्यटन बोर्डमा आयोजना हुनेछ ।