चलचित्र दिमाग खराबको प्रदर्शन स्थगित गर्ने घोषणा

चलचित्र दिमाग खराबको प्रदर्शन स्थगित गर्ने घोषणा

कहिरन

२९ कात्तिक, काठमाडौं । हलहरुले शो कम दिएको भन्दै चलचित्र दिमाग खराब निर्माण टोलीले चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ ।

भोलि (बिहीबार) सम्म पनि भारतीय चलचित्रहरु बराबर शो नदिए शुक्रबारदेखि चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय भएको निर्देशक निश्चल बस्नेतले बताए ।

‘उत्साहका साथ मानिसहरु आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने ?’, बस्नेतले फेसबुक लाइभमा भनेका छन्, ‘जबसम्म हाम्रो लगानी सुरक्षित गर्ने वातावरण पाउँदैनौं, तबसम्म फिल्म चलाउँदैनौं । बरु वैकिल्पक विधिबाट फिल्म देखाउँछौं ।’

नेपाली चलचित्रलाई हलहरुले प्राथमिकता नदिएकाले यो निर्णय लिन बाध्य हुनुपरेको समेत उनले बताएका छन् । ‘कसैलाई निहुँ खोज्न रिस राखेर यो गरेको होइन । सबैले व्यापार गरेपछि राम्रो फल आओस् भन्ने आशा गर्नु हुन्छ, त्यति मात्र गरेको हो’, बस्नेतले प्रष्टीकरण दिएका छन्, ‘चुनौति लिएरै यो निर्णय गरेका छौं, अफिसियल लेटरमा लेखेर पनि चाँडै सार्वजनिक गर्छौं ।’