गगन थापाको प्रश्न- टिकटक बन्दबारे कांग्रेससँगभयो सहमति?

गगन थापाको प्रश्न- टिकटक बन्दबारे कांग्रेससँगभयो सहमति?

कहिरन

नेपाली कांग्रेसका महामन्त्री एव‌ं प्रतिनिधि सभा सदस्य गगन थापाले टिकटक बन्द गर्ने निर्णयबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेका भनाइमाथि असहमति जनाएका छन्।

मंगलबार प्रधानमन्त्री प्रचण्डले नेपाल सम्वत् ११४४ को अवसरमा थिमी, भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सत्तापक्ष, प्रतिपक्ष सबैको सहमतिले टिकटक बन्द गरिएको बताएका थिए।

उनको यो भनाइ खण्डन गर्दै महामन्त्री थापाले यस्तो कुनै सहमति नभएको बताएका छन्।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीले भन्नुभएछ सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको हो। प्रमज्यूलाई प्रश्न छ, कुन सहमति? हाम्रो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले भयो छलफल? कहाँ भयो सहमति? कहिले, कसले गर्‍यो सहमति?’

सरकारले सोमबार साँझ नै टिकटक बन्द गर्ने निर्णय गरेको थियो। लगत्तै थापाले सरकार उल्टो कदममा हिँडेको प्रतिक्रिया दिएका थिए।

मंगलबार प्रधानमन्त्री प्रचण्डलाई उनले सम्बोधन गर्दै थप लेखेका छन्, ‘प्रमज्यू, पूर्वप्रधानमन्त्रीज्यूहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बीचमा भएको सहमति नभन्नुहोस्, नभन्ठान्नुहोस्। यो तपाईंहरू बीचको समझदारी हो। पार्टीहरू बीचको होइन। पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन। कुनै मत पार्टीको मत हुन पार्टी भित्र छलफल हुनुपर्छ।’

उनले पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी आफूहरू नबोक्ने र पार्टीले पनि बोक्न नसक्ने उल्लेख गरेका छन्।

थापाले थप उल्लेख गरेका छन्, ‘यही प्रसंगमा कति साथीहरूले सरकारले गर्ने निर्णयको सत्ता पक्षकै सांसद र पार्टीका पदाधिकारीले विरोध गर्न मिल्छ भन्ने कुरा उठाउनुभएको छ। त्यसको उत्तर हो, मिल्छ। गलतको विरोध, प्रतिरोध सबै गर्न मिल्छ, गर्नुपर्छ। हिजो पनि गलतलाई गलत भनेका हौं, आज पनि र भोलि पनि भन्छौं। सत्तामा हुँदा गलत पनि ठीक र त्यही कुरा प्रतिपक्षमा हुँदा गलत भन्ने हुँदैन।’

बरू सरकारले आधारभूत रूपमै गलत काम गर्दा सत्ता पक्ष भनेर मौन बस्नु चाहिँ गलत भएको उनले बताएका छन्।

‘जहाँ प्रजातन्त्रको आधारभूत विषय आउँछ, त्यहाँ निर्णय गर्ने ठाउँमा को छ हेरिँदैन। हिजो ज्ञानेन्द्रको शासन हुँदा होस् वा केही समय अगाडि नेकपाको सरकार हुँदा होस्, जहिले-जहिले अभिव्यक्ति स्वतन्त्रता माथि धावा बोल्ने र अंकुश लगाउने काम भयो, हामी त्यसको विरुद्ध उभिएका छौं, उभिइरहने छौं,’ महामन्त्री थापाले लेखेका छन्, ‘हिजो त्यही काम अरूले गर्दा गलत, हामीले गर्दा सही हुँदैन।