फिल्म ‘बहाव’ शुक्रवारबाट सार्वजनिक

फिल्म ‘बहाव’ शुक्रवारबाट सार्वजनिक

कहिरन समाचार

२४ चैत्र अर्थात शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘बहाव’ को बुधवार प्रिमियर गरिएको छ । काठमाडौँको वान सिनेमा हल नयाँ बानेश्वरमा गरिएको प्रिमियरमा कलाकार, रंग पत्रकारदेखि नेतासम्म फिल्म हेर्न पुगेका थिए । जसमा एमाले सांसद रघुजी पन्त, कांग्रेसका सांसद प्रदीप पौडेल, पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र सांसद पदम गिरी, कलाकार नीता ढुंगाना, लुनिभा तुलाधर, भोलाराज सापकोटा लगायतको उपस्थिति रहेको थियो । प्रिमियरमा सहभागी सबैले फिल्मको विषयवस्तु फरक लागेको प्रतिक्रिया दिए ।

एमाले नेता रघुजी पन्तले ‘बहाव’ नेपाली फिल्म जगतमा सम्भावना बोकेको फिल्म बनेको प्रतिक्रिया दिए । उनले भने, ‘फिल्मको विषयवस्तु नयाँ छ । नेपाली दर्शकका लागि यसले फरक स्वाद दिनेछ । फिल्मले हामीले समाजमा देख्दै र भोग्दै आएको विषयलाई गम्भीर किसिमले उठान गरेको छ’, पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र सांसद पदम गिरीले फिल्मले समाजभित्रको अन्तर्विरोधलाई देखाएको बताए । उनले समाजभित्र रहेको विभेदको जरा उखेल्न नसिरहेको अवस्थामा ‘बहाव’ ले त्यो जरा उखेल्न भूमिका निर्वाह गर्ने दाबी गरे । फिल्मले समाजलाई बदल्न तागत राख्ने उनको धारणा थियो ।

निर्देशक नरेश पौडेलले ‘बहाव’ नेपालमा बनिरहेका फिल्मभन्दा फरक शैलीमा बनेको बताए । उनले आफूले जापानी फिल्म हेरेको अनुभव गरेको खुलाए । उनले थपे, ‘फिल्म हेरिरहँदा जापानी फिल्म हेरेको अनुभव गरेँ । कथावस्तु फरक भएकाले पनि मलाई हेर्न मजा लाग्यो ।’ कलाकार भोलाराज सापकोटाले कथादेखि प्रस्तुतीकरण, कलाकारको अभिनय राम्रो लागेको बताए । अर्का कलाकार दीपक आचार्यले नेपाली परिवेशमा एउटा राम्रो फिल्म बनेको उल्लेख गरे । अर्का कलाकार विजय बरालले फिल्मको कन्सेप्ट आफूलाई मन परेको सुनाए ।

अभिनेत्री लुनिभा तुलाधरले फिल्मले आफ्नो कथा भनेजस्तो अनुभव गरेको बताइन् । उनले मानसिक स्वास्थ्यको विषयलाई उठान गरेकोमा आभार व्यक्त गर्दै यस्ता कथामा अझ फिल्म बन्नुपर्ने सुझाव दिइन् । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको ‘बहाव’ श्रीधर पौडेलले निर्माण गरेका हुन् । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा निर्माण भएको हो । फिल्ममा सुरक्षा पन्त, कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हिरालाल कँडेल लगायतको अभिनय छ ।