‘सरकारले शिक्षास्तर उकास्न ध्यान दिएन’

‘सरकारले शिक्षास्तर उकास्न ध्यान दिएन’

कहिरन समाचार

जनकपुरधाम । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका उपमहानिर्देशक तथा प्रवक्ता रुद्रप्रसाद अधिकारीले सरकारले शिक्षास्तर उकास्न ध्यान नदिएको गुनासो गरेका छन् ।

जनकपुरधाममा केन्द्रले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सरोकारवालाहरुले शिक्षक दरबन्दीको समस्या देशमा दशकौं देखि रहेपनि समस्या समाधानमा कुनै पनि सरकारले ध्यान नदिँदा शिक्षास्तर उकास्न अप्ठेरो भइरहेको उनले बताए ।

अधिकारीले २०७५ साल देखिनै ५३ हजार शिक्षकको दरबन्दी देशमा परिपूर्ति गर्न बाँकी रहेको बताउदै त्यसयता अहिलेसम्म एउटासमेत शिक्षक दरबन्दी थप गर्न नसकिएको बताए ।

केन्द्रका उपमहानिर्देशक तथा प्रवक्ता अधिकारीले शिक्षा क्षेत्रमा एक त नेपाल सरकारको बजेट पर्याप्त नहुने गरेको सुनाए ।

त्यस्तै, वैदेशिक दातृ निकायबाट पाएको अनुदान र सहयोगको कार्यान्वयनमा पनि आफ्नै किसिमको प्राविधिक जटिलता, दातृ निकायको सर्वेक्षण र त्यसमा स्थानीय तहको समन्वय र सफलतामा भर पर्ने भएकाले जटिल विषय बनेको समेत जानकारी गराए ।

कार्यक्रममा उपमहानिर्देशक तथा प्रवक्ता अधिकारीले प्रस्तुत गरेको कार्यपत्रमा शिक्षा क्षेत्रमा बिनियोजन हुने गरेको बजेट, त्यसमा नेपाल सरकार र दातृ निकायको योगदान र कार्यान्वयनको जटिलता, देशको कुल बजेट र शिक्षाको बजेटका साथै देशमा रहेको सामुदायिक विद्यालयहरुको संख्या, अवस्था सहितका समग्र विषय समेटिएको थियो ।

कार्यक्रममा केन्द्रका निर्देशक तथा सूचना अधिकृत सुरेशकुमार जोशीसहित धनुषाका एक दर्जन पत्रकारहरुको सहभागिता थियो ।