‘सडक सुरक्षा शिक्षा’ विद्यालय पाठ्यक्रममा

‘सडक सुरक्षा शिक्षा’ विद्यालय पाठ्यक्रममा

कहिरन समाचार

ललितपुर । ललितपुर महानगरपालिकाले सडक र ट्राफिक सुरक्षासम्बन्धी विषय पाठ्यक्रममा समावेश गरेको छ । आधारभूत तहको पाठ्यक्रममा ‘सडक सुरक्षा शिक्षा’ सम्बन्धी पाठ्यक्रम समेटिएको हो । स्थानीय तहमा अध्यापन हुने यस्तो पाठ्यक्रम देशमै पहिलो भएको बताइएको छ ।

महानगरले सोमबार औपचारिक कार्यक्रममार्फत नगर क्षेत्रका विद्यालयमा यस्तो विषय समावेश हुने जानकारी गराएको हो । पाठ्यक्रममा ट्राफिक नियम, सडक दुर्घटनाका कारण, ट्राफिक चिह्न लगायत बारेमा जानकारी समेटिएको छ । सडक सुरक्षाका विविध पक्षबारे विद्यालयतहबाटै थाहा दिन कार्टून, शब्दचित्र पनि पाठ्यक्रममा राखिएको छ ।

विद्यालय तहमा यस्तो विषय दक्षिण एसियामै पहिलो भएको नगर प्रमुख चिरिबाबु महर्जनले बताए । ‘सडक सुरक्षाको विषय पाठ्यक्रममा राख्न सम्भवतः दक्षिण एसियामै ललितपुर महानगरपालिका पहिलो हुन सक्छ । हामीले पाठ्यक्रममा समेटिने नयाँ–नयाँ विषयहरूको खोजी गरेर लागू गर्नेछौ’, उनले भने ।

ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुको पहलमा विद्यालय तहको पाठ्यक्रम तयार भएको हो । विद्यालय तहबाटै सडक र ट्राफिकसम्बन्धी शिक्षा समेट्दा आम नागरिकमा दीर्घकालसम्म सकारात्मक प्रभाव पर्ने हाछेथुको विश्वास छ ।

करिब ३ दशक ट्राफिक प्रहरीमा आवद्ध भएर प्रहरी निरीक्षकबाट अवकास लिएका उनलाई ललितपुर महानगरले २ वर्षअघि नगर प्रहरी प्रमुख नियुक्त गरेको थियो । हाछेथु ट्राफिक नियम पालनामा कडिकडाउ गर्ने निरीक्षकका रूपमा चर्चित थिए । ललितपुर महानगरले यसअघि साइकलका लागि छुट्टै लेन छुट्याएको छ ।