भारतको लागि सस्तो टेस्ला बनाउने एलन मस्क

भारतको लागि सस्तो टेस्ला बनाउने एलन मस्क

कहिरन समाचार

टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले भारतीय र इन्डोनेसियन बजारको लागि सस्तो मूल्यमा उपलब्ध टेस्ला गाडी उत्पादन गर्ने बताएका छन्।

केही साता अघि ट्विटर इंक आफ्नो स्वामित्वमा लिएपछि मस्क यतिबेला विश्व अटोमोबाइल क्षेत्रमा पनि केही परिवर्तन ल्याउने ‘मुड’ मा देखिन्छन्।

बेलायती अखबार द टेलिग्राफको एक रिपोर्ट अनुसार मस्कले हाल इन्डोनेसियामा भइरहेको जी२० सम्मेलनमा सस्तो मूल्यमा उपलब्ध टेस्ला बनाउनेबारे संकेत गरेका हुन्।

किफायती मूल्यमा उपलब्ध गाडी निर्माणले कम्पनीलाई पनि फाइदा पुर्‍याउने हुँदा उनले उक्त अवधारण बनाइरहेको हुन सक्ने रिपोर्टमा उल्लेख छ।

टेस्लाले केही समयदेखि नै भारतीय बजार प्रवेश गर्न खोजिरहेको छ। कम्पनीले भारतीय सरकारसँग सम्झौता गर्न र बजार रणनीति अपनाउनको लागि भारतको बेंगलुरूमा सहायक कम्पनी सञ्चालनमा ल्याएको छ।

भारतमै टेस्ला उत्पादन गर्न सके यसको निर्यातबाट राजस्व संकलन गर्न सक्ने कम्पनीको रणनीति रहेको बुझ्न सकिन्छ। तर भारतीय सरकारले हालसम्म टेस्ला सिइओ मस्को प्रस्ताव अस्वीकार गरिरहेका छन्।

भारतीय सरकार र टेस्लाबीच सम्झौता हुन नसकेको समय बजारमा अन्य अन्तर्राष्ट्रिय गाडी निर्माता कम्पनीहरूको प्रवेश भने भइरहेको छ। टेस्लाको प्रतिस्पर्धी कम्पनी फिस्करले हालै भारतमा आफ्नो पहिलो गाडी सन् २०२३ मै निर्यात हुने घोषाणा गरेको छ।