तिनाउ नदी किनारमा पहिलो पटक आरती

तिनाउ नदी किनारमा पहिलो पटक आरती

कहिरन समाचार

४३औँ विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा बुटवलको तिनाउ किनारमा पहिलो पटक सन्ध्याकालीन गोलपार्क आरती गरिएको छ।

पर्यटन दिवसको अवसर पारेर नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनीले गोलपार्कस्थित तिनाउ नदीको किनारमा आरती गरेको हो।

सोमबार साँझ ६ बजे स्थानीय बासिन्दाको बाक्लो उपस्थितिका बीच शंखध्वनीका साथ दुर्गा मन्दिरको छेवैमा रहेको तिनाउ  किनारमा ३ जना पण्डितले स्तोत्र पाठसहित सुगन्धित धुप बालेर आरती पूजा गरेका थिए।

नजिकैको जितगढी फुलबारी, हिलपार्क आउने पर्यटकलाई लक्षित गरि सन्धाकालिन आरती आयोजना गरिएको  नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताईन्।

पन्तले धार्मिक तथा साँस्कृतिक पहिचान र प्रवर्द्धनबाट यस क्षेत्रको पर्यटन उद्योगलाई चलायमान बनाउन तथा बुटवलको ऐतिहासिकतालाई प्रचारमा ल्याउन सन्ध्याकालिन आरतीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताईन्।

यस क्षेत्रमा हुने धार्मिक र सांस्कृतिक कार्यहरुले  छिमेकी देश भारतबाट पनि पर्यटक तान्न यसले विशेष भूमिका खेल्ने बिश्वासका साथ सन्ध्याकालिन आरती आयोजना गरिएको उनले बताईन्।

कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद

पौडेलले आफू बुटवलको पर्यटकीय विकासका लागि आवश्यक पूर्वाधार निर्माणका गर्न बजेटको अभाव हुन नदिने बताए।

उनले बुटवलको ऐतिहासिकतालाई प्रवर्द्धन गर्ने तथा यहाँको विकासका लागि योजनाबद्ध ढंगले अगाडि बढेको र अब छिट्टैनै रूपन्देही विकासको रोल मोडलको रुपमा अगाडि आउने बताए।

पौडेलले आफू उपप्रधान तथा अर्थमन्त्रीको रूपमा २०७८ जेठ १५ गते बजेट प्रस्तुत गर्ने क्रममा शसर्त अनुदान अन्तर्गत ‘तिनाउ नदी दीप प्रज्ज्वलन जलपर्यटन पूर्वाधार निर्माण बुटवल वडा नं. १, २ र ५ रूपन्देहीका लागि १ करोड’ रुपैयाँ विनियोजन गरेकोमा सरकार परिवर्तन लगत्तै ल्याईएको पुरक बजेटले उक्त बजेट कटौती गरेको कारण उक्त सोँच अलपत्र परेको बताए।