दसैं, तिहार छठलाई लक्षित गरी नयाँ नोट वितरण सुरु

दसैं, तिहार छठलाई लक्षित गरी नयाँ नोट वितरण सुरु

कहिरन समाचार

नेपाल राष्ट्र बैंकले दसैं, तिहार छठलाई लक्षित गरी नयाँ नोट वितरण सुरु गरेको छ । राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरले सर्वसाधारणका लागि २ असोजदेखि नोट वितरण थालेको हो  ।

दसैं विदा हुनुभन्दा अघिल्लो दिनसम्म नयाँ नोट साट्न सकिनेछ । सिद्धार्थनगर अन्तर्गत पर्ने १० जिल्लामध्ये रुपन्देहीमा राष्ट्र बैंक स्वंयले र अन्य ९ जिल्लामा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकमार्फत नयाँ नोट वितरण भइरहेको प्रादेशिक कार्यालय सिद्धार्थनगरका निर्देशक रञ्जना पंडित पौडेलले बताइन् ।

अर्घाखाँची, पाल्पा, गुल्मी, कपिलबस्तु, पूर्वी नवलपरासी र नवलपरासीमा राष्ट्रिय वाणिज्य बैंक मार्फत तथा रोल्पा, प्युठान र पूर्वी रुकुममा नेपाल बैंक मार्फत नयाँ नोट पठाइएको छ ।

बैंकले यस अघि भदौ २६ गतेबाट नै बैक तथा वित्तिय संस्थालाई १ अर्ब ५० करोड ३५ लाख नयाँ नोट पठाएको छ । पठाइएको नोटमध्ये ५ वटा जिल्लाको नोट कोषमा ६२ करोड ५० लाख, र अन्य बैंक तथा वित्तिय संस्थामा ८७ करोड ८५ लाख नयाँ नोट पठाइएको छ । अझै ४ वटा सुगम जिल्लाको नोट कोषमा नयाँ नोट पठाउन बाँकी रहेको निर्देशक पौडेलले बताइन् ।

रुपन्देहीको हकमा सर्वसाधारणका लागि नयाँ नोट सिद्धार्थनगर शाखाबाट नै वितरण भइरहेको छ ।