‘वित्तीय संस्थाबाट अनुत्पादक क्षेत्रमा बढी लगानी हुँदा समस्या आयो’

‘वित्तीय संस्थाबाट अनुत्पादक क्षेत्रमा बढी लगानी हुँदा समस्या आयो’


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा र शेयर बजारजस्ता अनुत्पादक क्षेत्रमा बढी कर्जा विस्तार हुँदा त्यसले समस्या सृजना गरेको बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले विगतमा अनुत्पादक क्षेत्रमा ठूलो लगानी हुँदा समस्या देखिएको उल्लेख गर्दै अबका दिनमा उत्पादनमूलक र राम्रो प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

“हिजोका दिनमा बैंकबाट भएको लगानी ठीक ठाउँमा गएन । शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो । त्यो बेला ऋण लिएका ऋणीहरु अहिले समस्यामा परेका हुन् । ब्याजदर बढ्यो तर प्रतिफल छैन”, अर्थमन्त्रीले भने, “हाम्रा आवश्यकता धेरै छन् । स्रोत साधन निकै कम छ । खर्चको प्राथमिकिकरण गर्न आवश्यक छ । राज्यको स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ ।”

बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितो राखेर कर्जा दिनुको सट्टा विभिन्न खालका आयोजनालाई धितो मानेर कर्जा दिने प्रवृत्तिको विकास गरिनुपर्ने अर्थमन्त्री महतले बताए । पूर्वाधार र संरचनाका हिसाबले सार्वजनिक क्षेत्र निकै राम्रो भएपनि सहज सेवा प्रवाहमा चुक्दा बदनाम हुनुपरेको उनले बताए । आम नागरिकलाई हुने सेवा प्रवाह सरल र सहज बनाएर सार्वजनिक क्षेत्रप्रतिको बुझाइलाई सुधार गर्दै जानुपर्ने उनले उल्लेख गरे । सरकारी भएकै कारण राष्ट्रिय वाणिज्य बैंकले अपेक्षित प्रगति गर्न नसकेको उनले बताए ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड आजबाट आफ्नो स्थापनाको ५८ वर्ष पूरा गरी ५९ औँ वर्षमा प्रवेश गरेको छ । २०८० असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी रु ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी रु १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ । बैंकको विद्यमान पुँजी संरचनाअनुसार नेपाल सरकारको ९९ दशमलव ९७ प्रतिशत र सर्वसाधारणको शून्य दशमलव ०३ प्रतिशत शेयर रहेको छ ।

बैंकको पुँजी कोष रु ५० अर्ब ७४ करोड रहेको छ । गत असार मसान्तसम्ममा बैंकको निश्क्रिय कर्जा अनुपात तीन दशमलव ७७ प्रतिशत छ । गत पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारण र संस्थागत गरी ४१ लाख ४० हजारभन्दा बढी निक्षेपकर्ताको रु तीन खर्ब ३८ अर्ब ४४ करोड निक्षेप रहेको छ । कर्जातर्फ एक लाख ९४ हजार भन्दा बढी ग्राहकलाई रु दुई खर्ब ५६ अर्ब ७० करोड बराबर ऋण विस्तार भएको बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०६०/६१ देखि निरन्तर मुनाफा आर्जन गरिरहेको छ । गत आर्थिक वर्ष २०७९/८० मा बैंकले रु तीन अर्ब ५९ करोड खुद मुनाफा कमाएको थियो । गतवर्ष बढी खुद मुनाफा आर्जन गर्ने बैंकको सूचीमा राष्ट्रिय वाणिज्य बैंक दोस्रो स्थानमा छ । गतवर्षमा आर्जित मुनाफाबाट बैंकले पाँच दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।