चालु वर्षको पहिलो तीन महिनामा ३.२ प्रतिशतको आर्थिक वृद्धि

चालु वर्षको पहिलो तीन महिनामा ३.२ प्रतिशतको आर्थिक वृद्धि


काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा गार्हस्थ्य उत्पादन (जिडिपी) मा ३.२ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको त्रैमासिक तथ्याङ्कानुसार जिडिपी वृद्धिदर खुम्चिएको हो ।

“आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ३.२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ”, तथ्याङ्क कार्यालयले भनेको छ ।

तथ्याङ्क कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमासिक र गत आर्थिक वर्षको पहिलो त्रैमासिकबीच तुलना गर्दा सबैभन्दा बढी १५.८ प्रतिशतले खानी तथा उत्खननको कुल मूल्य अभिवृद्धि बढ्ने अनुमान गरिएको छ । यसैगरी, निर्माण क्षेत्रसँग प्रत्यक्ष आधारित हुने बालुवा, गिट्टी तथा ढुङ्गाको उत्खननको मूल्य अभिवृद्धि ११.४ प्रतिशतले बढेको छ ।

वित्तीय तथा बीमा क्षेत्रको कुल मूल्य अभिवृद्धिमा १३.२ प्रतिशतले हुने अनुमान गरिएको छ भने आवास तथा भोजन सेवा क्षेत्रमा ११.७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । चालु आवको पहिलो त्रैमासिक अवधिमा पर्यटक आगमनमा भएको उल्लेख्य वृद्धिले यस क्षेत्रमा सकारात्मक देखिएको छ ।

अर्थतन्त्रमा सबैभन्दा बढी योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.४ प्रतिशत हुने अनुमान गरिएको छ । धान उत्पादनमा भएको वृद्धिले पनि यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

थोक तथा खुद्रा व्यापार क्षेत्रको कुल मूल्य अभिवृद्धिमा अघिल्लो वर्षको पहिलो त्रैमासिक अवधिको भन्दा चालु आवको पहिलो त्रैमासिक अवधिमा १.२ प्रतिशतले कमी हुने प्रारम्भिक अनुमान छ ।