लाइन काटिएका उद्योगमा पुनः बिजुली जोडिंदै

लाइन काटिएका उद्योगमा पुनः बिजुली जोडिंदै


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरिएका दुई दर्जन उद्योगमा पुनः विद्युत् जोड्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६०औं बैठकले मन्त्रिपरिषद्को निर्णय बमोजिम काटिएको विद्युत् लाइन पुनःसञ्चालन गर्ने निर्णय गरेको हो ।

प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका तर त्यस बापत प्रिमियम महसूल नतिरेका २४ उद्योगको विद्युत् आपूर्ति बन्द गरेको थियो ।

प्राधिकरणले पाँच करोड रुपैयाँभन्दा बढी बक्यौता भएका २४ वटा उद्योगको लाइन काटेको थियो । त्यसमध्ये हिमाल स्टीलले बक्यौता किस्ताबन्दीमा तिर्न शुरू गरेपछि लाइन जाडिएको थियो ।

सञ्चालक समिति बैठकले नेपाल सरकारबाट गठित जाँचबुझ समितिबाट प्रतिवेदन पेश भई सरकारबाट निर्णय नभएसम्मका लागि लाइन काटिएका उद्योगहरूको विद्युत् लाइन पुनःसञ्चालन गराउन प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको थियो ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले प्राधिकरण र उद्योगीहरूबीचको महसूल बक्यौताको विवाद समाधानका लागि सिफारिश गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा ऊर्जा, जलस्रोत तथा सिंचाइसचिव र उद्योगसचिव सदस्य रहेको जाँचबुझ समिति गठन गरेको थियो ।