नेपाल-भारतबीच चारवटा सहमतिमा हस्ताक्षर

नेपाल-भारतबीच चारवटा सहमतिमा हस्ताक्षर


काठमाडौँ । नेपाल र भारतबीच आज चारवटा सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा आज बसेको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौता सहितका चार सहमतिमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रबक्ता अमृतबहादुर राईले जानकारी दिए ।

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत आयात गर्ने सम्झौतामा दुई देशका उर्जा सचिवले हस्ताक्षर गरेका छन् ।

नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्नेलगायतका ४ सम्झौता भएको प्रबक्ता राईले जानकारी दिए । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी र न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्नेछ ।

यस्तै हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयन सहमतिमा अर्थ सचिव कृष्णहरि पुस्कार र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावले हस्ताक्षर गरेका छन् । यो सहमति अनुसार काठमाडौंस्थित भारतीय दूताबासले अब एउटै परियोजनामा २० करोडसम्म सोझै लगानी गर्नसक्ने छ ।

भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पूननिर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली अनुदान सहयोग गर्ने सहमति पनि भएको छ ।

आज बैठककै क्रममा दुवै देशका परराष्ट्रमन्त्रीले १३२ केबी पावर क्षमताका तीनवटा प्रसारण लाइनको उदघाटन गरेका छन् । बैठकमा नेपाल र भारतको समग्र विषयमा समीक्षा गर्ने, आगामी दिनमा नेपाल र भारतको सम्बन्धलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको प्रवक्ता राईले बताए ।