‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३’ आजदेखि विराटनगरमा सुरू हुँदै

‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३’ आजदेखि विराटनगरमा सुरू हुँदै

कहिरन

‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३’ आजदेखि विराटनगरमा सुरू हुँदैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेपछि एक्स्पोको औपचारिक सुरुआत हुनेछ।

मोरङ व्यापार संघको आयोजनामा हुने एक्स्पो पुस १६ सम्म सञ्चालन हुनेछ।

एक्स्पोमा कृषिजन्य उत्पादन, पर्यटन, हस्तकला, अटोमोबाइल र औद्योगिक प्रदर्शनी हुनेछ। जर्मन प्रविधिमा निर्मित हेंगरमा २४० वटा स्टल एक्स्पोमा रहने मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए।

एक्स्पो आयोजना गर्न करिब ४ करोड खर्च हुने र १० दिनमा १५ करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको आयोजकको भनाइ छ।

एक्स्पोलाई ५ लाखभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। प्रदेशका कृषि उत्पादन, अन्तरप्रादेशिक व्यापार संभावना र सेवालाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने एक्स्पोको लक्ष्य रहेको आयोजकको भनाइ छ।

एक्स्पोमा स्वदेशी औद्योगिक र कृषि उत्पादनसहित भारत, बंगलादेश र पाकिस्तानका औद्योगिक उत्पादनको प्रदर्शनी हुनेछ।

पाकिस्तानको लेदर उद्योग, बंगलादेशको गार्मेन्ट उद्योग, भारतको कृषि उद्योग र नेपालको हिमाल, पहाड र तराईको औद्योगिक उत्पादनको सामान एक्स्पो स्टलबाट ५ देखि १० प्रतिशतसम्म छुटमा बिक्री हुने आयोजकले जनाएको छ।