मन्त्री ज्वालाले सिद्धबाबा सुरुङमार्गको कामलाई तिव्रता दिन निर्देशन

मन्त्री ज्वालाले सिद्धबाबा सुरुङमार्गको कामलाई तिव्रता दिन निर्देशन

कहिरन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङमार्गको काम सुस्त भएको भन्दै कामलाई तिव्रता दिन निर्देशन दिएका छन्।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको शनिबार निरीक्षण गर्दै मन्त्री ज्वालाले कामको गति निकै ढिलो भएकोले तिव्रता दिन निर्देशन दिएका हुन्।

सिद्धबाबा सुरुङ मार्गलाई ठूलो र महंगो आयोजनाका रुपमा लिइएको बताउँदै उनले यसको काममा कुनैपनि लापरवाही नगर्न निर्माण व्यवसायीलाई सचेत बनाए।

‘अहिले सुरुङमार्गको ८/९ प्रतिशत मात्रै काम भएको छ, कामको रफ्तार बढाउनका लागि स्थलगत निरीक्षण गरिएको हो,’ मन्त्री ज्वालाले भने।

उनले निर्माणको क्रममा कुनै समस्या आए त्यसको समाधानका लागि सरकार सधै तत्पर रहेको भन्दै निर्माणको काममा लापरवाही र ढिलासुस्ती गर्ने छुट भने नभएको बताए।

‘निर्माणको क्रममा कुनैपनि समस्या आए त्यसको समाधानको लागि सरकार तत्पर छ तर, विभिन्न बहाना बनाएर काममा ढिला गर्ने छुट छैन,’ उनले भने।

मन्त्री ज्वालाले निर्माण व्यवसायीको कामप्रती सन्तुष्ट हुन सक्ने अवस्था नरहेको प्रतिक्रिया दिए। उनले माथिल्लो सिद्धबाबाको प्रवेशद्वार सहित ३ वटा क्षेत्रको निरीक्षण गरेका थिए।

सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्ड अन्तर्गत बुटवलको तल्लो सिद्धबाबा देखि पाल्पाको दोभान चौकीसम्म करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकोले यहाँ सुरुङमार्गको अवधारणा अघि सारिएको हो।

चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड सम्झौता गरी काम अगाडी बढाएको थियो।

निरीक्षणमा सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालले सुरुङमार्गको कामले गती लिन नसकेको स्विकार गरे। उनले सुरुङमार्ग नेपालका लागि नयाँ भएकोले अहिले बाहिरी डिजाइन स्विकृत गरेर काम भइरहेको बताए।

अत्यन्त अप्ठ्यारो चट्टान सहितको पहरोलाई छेंडेर निर्माण गर्न लागिएको सुरुङमार्गको प्रवेशद्वार र निकासद्वारमा गत साउनमा पहिरो झरेपछि निर्माणको काम रोकिएको थियो।

साउन पहिलो साता झरेको पहिरोले सुरुङमार्गको ‘टनेल पोर्टल’ नै पुरिएपछि तिनमहिना बढि समय रोकिएको सुरुङमार्ग निर्माणको काम दशैं पछि मात्रै सुरु गरिएको हो।

यस्तै मन्त्री ज्वालाले बुटवल नारायणगढ सडकखण्डको बिषयमा पनि जनताले धेरै गुनासो गरेको भन्दै काममा ढिला नगर्न निर्देशन दिएको बताए।

‘बुटवल नारायणगढ सडकको कामको गती बढेको छैन, हामी सडक निर्माणको कामप्रति सन्तुष्ट छैनौं,’ मन्त्री ज्वालाले भने।

बुटवल नारायणगढ पश्चिम सेक्टर आयोजना प्रमुख शंशाक मिश्रले निर्माण सामाग्री नपाउँदा काममा ढिलाइ भएको बताए।

उनका अनुसार नारायणगढ बुटवल पश्चिम खण्डमा ३९ प्रतिशत भौतिक प्रगती छ।