दुई वर्षपछि नेप्सेमा सर्वाधिक वृद्धि

दुई वर्षपछि नेप्सेमा सर्वाधिक वृद्धि

कहिरन

काठमाडौँ । दुई वर्षपछि नेप्से परिसूचक एकै दिन उच्च अंकले बढेको छ । आज नेप्से एकै दिन एक सय ११ बिन्दुले बढेपछि तेस्रो सर्किट ब्रेक लागेर बजार बन्द भयो ।

१२ बजेर ९ मिनेटमा तेस्रो सर्किट ब्रेक लागेपछि तीन घण्टा अघि नै आजलाई बजार बन्द गरिएको छ। चाँडै बन्द भएपछि साविक दिनमा ४ घण्टा हुने कारोबार यस दिन जम्मा ७ मिनेट कारोबार हुन पायो ।

नेप्से परिसूचक करिब साढे तीन महिनायताकै उच्च बिन्दुमा आइपुगेको छ । बजार बन्द हुँदा नेप्से १९६३.९३ बिन्दुमा आइपुगेको छ । २०८० भदौ १८ गते नेप्से १९६७.९७ बिन्दुमा थियो । आइतबार त्यसयताकै उच्च बिन्दुमा नेप्से आइपुगेको हो ।

बजार खुले देखिनै उत्साहजनक रुपमा बढेपछि यस दिन तीन पटकसम्म सर्किट ब्रेक लागेको हो । बजार खुलेको ५ मिनटमै ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट ब्रेक लागेर खुलेको एक मिनेटमै बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो ।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ । त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ । र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ ।

शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितो कर्जाको जोखिमभार एक सय ५० प्रतिशतबाट घटाएर एक सय २५ बनाएको थियो । यससँगै लगानीकर्ताहरूमा सकारात्मक सन्देश प्रवाह भएको मानिएको छ ।

राष्ट्र बैंकले घर कर्जाको जोखिम भार समेत घटाएको थियो । यो निर्णयको कारण बजारमा थय ४० देखि ५० अर्ब रूपैयाँ कर्जा लगानीको लागि निस्किने गभर्नर महाप्रसाद अधिकारीले बताएका थिए ।

आइतबार बजारमा ४८ करोड २४ लाख रूपैयाँको कारोबार भएको छ । आइतबार बजारमा नौ मिनेट मात्रै कारोबार भएकोले अघिल्लो दिनकोभन्दा कम रकमको कारोबार भएको हो। अघिल्लो दिन एक अर्ब ७७ करोड रूपैयाँको सेयर कारोबार भएको थियो ।

यसदिन कारोबारमा आएको सबै समूहगत परिसूचकमा वृद्धि भएको छ । जलविद्युत समूहगत परिसूचक सबैभन्दा धेरै ८.६३ प्रतिशतले बढेको छ । होटेल, वित्त र विकास बैंक, लगानी समूहको परिसूचक ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

कारोबारमा आएको ६ कम्पनीहरूको मूल्य सबैभन्दा धेरै १० प्रतिशतको दरमा बढेको छ । रिलायन्स फाइनान्स, जोशी जलविद्युत, राप्ति हाइड्रो, शुभम पावर, कालिञ्चोक दर्शन, इन्ग्वा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतभन्दा बढेको हो ।

यसदिन २ सय ४४ वटाको कारोबार भएकोमा २ सय ३३ वटाको मूल्य बढेको छ भने ५ वटाको घटेको छ ।