मौद्रिक नीतिको समिक्षामा घर जग्गा व्यवसायी अझै असन्तुष्ट

मौद्रिक नीतिको समिक्षामा घर जग्गा व्यवसायी अझै असन्तुष्ट


काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत घरजग्गा कारोबार क्षेत्रको कर्जामा उदारता देखाएपनि घरजग्गा व्यवसायीहरु सन्तुष्ट हुन सकेका छैनन् ।

राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समिक्षाका विषयमा प्रतिक्रिया दिँदै नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले मौद्रिक नीतिको समिक्षाले घरजग्गा कारोबारमा खासै परिवर्तन आउन नसक्ने बताए ।

उनले ५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाएर ६० प्रतिशत कायम गर्दैमा कारोबार बढ्ने आँकलन गर्न नसकिने बताए । उनले काठमाडौं उपत्यकाभित्र जग्गाको मूल्य आनाको ५० देखि ६० लाख रुपैयाँ पर्ने भन्दै एउटा घर किन्नको लागि २ देखि साढे दुई करोड रुपैयाँ नभइ नपुग्ने अवस्था रहेको बताए ।

उनले राष्ट्र बैंकको यसअघिको निर्देशनमा नै २ करोडको घर खरिद गर्दा मासिक साढे ४ लाख आम्दानी हुनुपर्ने र त्यसको कर तिरेको हुनुपर्ने नियम भएको अवस्थामा अहिलेको ५० लाख र २५ लाखको आवास कर्जाले व्यवसायीहरुलाई नछुने जिकिर गरे ।

उनले समग्र देशको अर्थतन्त्रमा परेको असर हेरेर नीति बनाउन आवश्यक रहेको बताए । उनले घरजग्गा कारोबार अनुत्पादक क्षेत्र भने पनि घरजग्गा कारोबार बन्द हुँदा २ सय बढी क्षेत्रलाई असर पर्ने गरेको सुनाए । उनले घरजग्गा कारोबार बन्द हुँदा निर्माण सामग्रीहरुको मूल्य समेत क्रमिक रुपमा घटेको उल्लेख गरे ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जाको जोखिम भार घटाएर एक सय २५ प्रतिशत कायम गरेको छ । यस्तो जोखिम भार एक सय ५० प्रतिशत थियो । त्यस्तै ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिएको छ ।

५० लाखसम्मको आवास कर्जामा नयाँ व्यवस्था गरिए पनि अन्यमा भने यथावत छ ।