देशमा मुल्यवृद्धि उच्च, बाह्य क्षेत्रमा सुधार

देशमा मुल्यवृद्धि उच्च, बाह्य क्षेत्रमा सुधार


काठमाडौं । नेपाल राष्ट्र बैंकले बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको जनाएको छ । लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३.८ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ ।

प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा पेस गरिएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे संक्षिप्त नोटमा व्यापार घाटा पनि ३.३ प्रतिशतले घटेको उल्लेख छ । गत असोजसम्म रेमिट्यान्स ३० प्रतिशतले बढेका कारण चालु खाता ५९ अर्ब रुपैंयाले बचतमा छ ।

चालु आर्थिक वर्षको असोजसम्म ३ अर्ब ३८ करोड रुपैंया विदेशी लगानी नेपाल भित्रिएको केन्द्रीय बैंकले जनाएको छ । देशमा अझैं मूल्यवृद्धि उच्च रहेको बैंकले जनाएको छ । समितिमा गभर्नर महाप्रसाद अधिकारीले खासगरी खाद्य तथा पेय पदार्थको मूल्यवृद्धिले गर्दा समग्र मूल्यबृद्धि बढी रहेको बताए । आर्थिक वर्ष २०७९/०८० असोजको मूल्यवृद्धि ७.५ प्रतिशत रहेको बताए ।

गभर्नर अधिकारीले निर्माण उद्योगमा आएको समस्याका कारण उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालन गर्न नसक्दा कर्जाको मागमा कमी रहेको बताए । दुर्गा प्रसाईको २० लाखसम्मको ऋण मिनाह गराई दिने तिर्नुपर्दैन भन्ने आन्दोलनका कारण पनि कर्जा प्रवाहमा बैंकहरु हच्किएको गभर्नर अधिकारीले समिति बैठकमा सुनाएका छन् ।

यस्तै मौद्रिक नीतिको लचकताको कारण बैंकको ब्याजदर निरन्तर रुपमा घटिरहेको गभर्नर अधिकारीको भनाई छ । उनले गतवर्ष ट्रेजरी बिलको भारित ब्याजदर १०.१४ प्रतिशत रहेकोमा २०८० असोजमा ४.९४ प्रतिशत रहेको बताए । ९१ दिने टेजरी विलको भारित औसत ब्याजदर थप घटेर २.६२ प्रतिशत रहेको बताए ।

उनले ले गत वर्षको तुलनामा अल्पकालिन ब्याजदरहरु घट्दै गएको बताए । बैंकहरुको अन्तर ब्याजदर पनि असोजमा २.२६ प्रतिशत रहेको ब्याजदर थप घटेर १ प्रतिशतको हाराहारीमा रहेको बताए । बैंकहरुको बेस रेट घटेर ९.९४ प्रतिशत भएर एकल अंकमा आएको भन्दै कर्जाको ब्याजदर पनि गत वर्ष माघमा १३ प्रतिशत रहेकोमा अहिले घटेर १२.१ प्रतिशतमा झरेको बताए ।

बैंकहरुको निक्षेपको ब्याजदर घटाउँदै ल्याएकाले कर्जाको ब्याजदर पनि थप घट्ने क्रममा रहेको छ । गभर्नर अधिकारीले चालु आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आँकलन गरेको बताए ।

त्यस्तै, नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले ब्याजदर एकल अंकमा ल्याउँदा टिकाउन नसकिने बताए । ब्याजदर एकल अंकमा आउनासाथ आयात बढ्ने र यसले सञ्चितिमा दबाब पर्ने दाबी गरे । ब्याजदर एकल अंकमा आउनासाथ अर्कोतर्फ घरजग्गालगायत सम्पत्तीको मूल्य बढ्ने र यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने पनि बताए ।

उनले नेपाल आन्तरिक उत्पादन कमजोर रहेकाले एकल अंकमा ब्याजदर ल्याउँदा फाइदा नहुने बताए । डिपार्टमेण्ट स्टोरलगायतका ठूला व्यवसायहरू, सञ्चालनमा रहेका खुद्रा व्यवसायहरू समस्या रहेको श्रेष्ठको भनाई थियो ।