सरकारले एनसेलको सेयर खरिद-बिक्रीबारे छानबिन गर्ने

सरकारले एनसेलको सेयर खरिद-बिक्रीबारे छानबिन गर्ने

कहिरन

सरकारले एनसेलको सेयर खरिद-बिक्रीबारे छानबिन गर्ने भएको छ।

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएकी हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा प्रकाशित समाचारप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारी समेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा भएको देखिने यो कारोबारका सम्बन्धमा अध्ययन गर्न सम्माननीय प्रधानमन्त्रीले मिति २०८० मंसिर १८ गते सम्बन्धित निकायलाई निर्देशन दिइसक्नुभएको छ।

नेपाल सरकारले एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्नेछ।’

यस अध्ययन तथा छानबिनबाट कुनै अनियमितता भएको पाइएमा सरकारले सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारबाहीको दायरामा ल्याउने पनि विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै मंगलबार नै एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि एनसेलबारे छानबिन गर्न माग गरेको छ।

विज्ञप्तिमा राप्रपाले भनेको छ, ‘एनसेल सेयर बिक्रीमा अर्बौं रकम कर छल्ने, नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्ने तथा प्रचलित दूरसञ्चार कानुन विपरीत हुने गरी सेयर खरिद-बिक्री भएको सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित समाचारहरूप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ।’

राप्रपाले यसअघि यस्तै प्रकरणमा कर छली भएको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै पुनः सोही प्रकारको विषय चर्चामा आएको उल्लेख गरेको छ।

‘यसमा नेपाल सरकारको प्रचलित कानुन बमोजिमको प्रक्रिया अवलम्बन गर्न, नेपालमा वैदेशिक लगानीलाई दुरूत्साहन नहुने गरी भ्रष्टाचारजन्य कामकारबाही हुन नदिन पूर्व सावधानीका साथ यथार्थ विवरण अविलम्ब सार्वजनिक गर्नुका साथै सत्यतथ्य छानबिन गर्न राप्रपा सरकारसँग माग गर्छ,’ राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।