आजबाट सूर्यविनयकदेखि काठमाडौंको रत्नपार्क चल्ने द्रुत बस सेवा पुनः सूचारु

आजबाट सूर्यविनयकदेखि काठमाडौंको रत्नपार्क चल्ने द्रुत बस सेवा पुनः सूचारु

कहिरन

भक्तपुरको सूर्यविनयकदेखि काठमाडौंको रत्नपार्क चल्ने द्रुत बस सेवा आजबाट पुनः सूचारु भएको छ।

सञ्चालनमा आएको एक महिना नबित्दै बन्द भएको उक्त सेवामा केही फेरबदल गरेर आजबाट सञ्चालनमा ल्याइएको नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।

उनका अनुसार पहिले २५ वटा बसबाट सञ्चालन गरिएको यो सेवामा अहिले थप ११ वटा बस थपिएको छ।

कुल ३६ वटा बस सञ्चालनमा आएसँगै अब प्रत्येक तीन-तीन मिनेटमा सूर्यविनायकबाट द्रुत सेवाका बसहरू छुट्ने छ। जबकि यसअघि पाँच-पाँच मिनेटको अन्तरालमा बसहरू छुट्ने गर्थ्यो।

यस्तै बस छुट्ने समय तालिकामा पनि परिवर्तन गरिएको छ। यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म चल्ने गरेकोमा अबदेखि साढे ८ बजेदेखि साढे १० बजेसम्म सेवा सञ्चालन हुने अध्यक्ष स्वाँर बताउँछन्। बेलुकी पनि साढे तीन बजेदेखि साढे पाँच बजेसम्म सेवा सञ्चालन गरिने उनले जनाए।

अर्को भनेको मुख्य जक्सनहरूमा द्रुत बस सेवाका लागि ठाउँ छुट्याउने काम पनि यसपटक गरिने स्वाँर बताउँछन्। धेरै जाम हुने कोटेश्वर, बानेश्वर जस्ता मुख्य जक्सनहरूमा द्रुत बस सेवाका लागि तीस मिटर ठाउँ छुट्याइने उनले बताए।

‘यस्ता मुख्य जक्सनहरूमा कोन राखेर तीन मिटर जति खालि ठाउँ छुट्याइन्छ। जसले गर्दा जाम हुने समयमा पनि उक्त ठाउँमा अन्य सवारी साधन जान पाउँदैनन् र द्रुत बस त्यहाँ गएर रोकिन पाउँछन्। यसले गर्दा जाम खुल्न साथ द्रुत बस अगाडि जान पाउँछन्,’ अध्यक्ष स्वाँरले भने।

गत असोज ३ गते संविधान दिवसको अवसर पारेर द्रुत बस सञ्चालनमा ल्याइएपछि कार्यान्वयनमा समस्या आएपछि एक महिना नबित्दै सेवा बन्द भएको थियो।

त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरी लगायत सरोकारवाला अधिकारीहरूबीच पटक-पटकको छलफलपछि आजबाट सेवा पुनः सञ्चालनमा ल्याइएको हो।