प्राधिकरणले समयमा विद्युत महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो

प्राधिकरणले समयमा विद्युत महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो

कहिरन

नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ।

प्राधिकरणले विद्युत महसुल बक्यौता असुलीलाई देशभरी अभियानकै रुपमा चलाइरहेको छ। विद्युत लाइन काटेर करिब ५० करोड रूपैयाँ असुल गरिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि वक्यौता असुलीलाई अझै सशक्त बनाइने बताए।

असुलउपर गर्नुपर्ने विद्युत महसुल वक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरूले महसुल नतिर्ने ग्राहकहरूको लाइन काटिरहेका छन्।

विद्युत महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थपदस्तुर आकर्षित हुने व्यवस्था छ।

मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका  दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थपदस्तुर लाग्ने प्रावधान छ। मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत महसुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि बिलको २५ प्रतिशतका दरले थपदस्तुर लाग्ने व्यवस्था छ।

यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औं दिनसम्म पनि वक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ।  लाइन काटेको ६ महिनासम्म पनि वक्यौता महसुल नबुझाउने उपभोक्ताहरूलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ।

विनियमावलीको यही प्रावधानको आधारमा मिटर रिडिङ भएको मितिले ६०औं दिनसम्म पनि वक्यौता विद्युत महसुल भुक्तान नगर्ने उपभोक्ताहरूको चरणबद्धरुपमा विद्युत लाइन काटी वक्यौता महसुल असुल उपर गर्ने रणनीति लिइएको प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए।

उनले तिहारपछि लाइन काट्ने कामलाई अझै तिव्रताका साथ अगाडि बढाइने भएकाले समयमै महसुल तिरी सजक र जिम्मेवार बन्न ग्राहकहरूलाई आग्रह गरे।