नेपालको व्यापार घाटा झनै चुलियो, निर्यात निराशाजनक

नेपालको व्यापार घाटा झनै चुलियो, निर्यात निराशाजनक


काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा नेपालले चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको मालवस्तु आयात गरेको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार गत वर्षको तेस्रो महिनाको तुलनामा चालु वर्षको तेस्रो महिनासम्म कूल आयात १.६९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चार खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको थियो ।

असोज मसान्तसम्मको विवरणअनुसार तीन महिनाको अवधिमा नेपालको निर्यात भने २.२६ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार सो अवधिमा नेपालबाट ४० अर्ब ८७ करोड ४८ लाख बराबरको माल वस्तु निर्यात भएको छ । गत वर्षको तीन महिनाको अवधिमा ४१ अर्ब ८२ करोड बराबरको निर्यात भएको थियो ।

यो अवधिमा चार खर्ब ४८ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको यही अवधिमा चार खर्ब ४२ अर्ब ८१ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।

विभागका अनुसार असोज मसान्तसम्म नेपालको व्यापार घाटा तीन खर्ब ६६ अर्ब ८८ करोड बराबर रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१५ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ थियो ।

आयातमा केही सुधार देखिएसँगै सो अवधिमा भन्सार राजस्व १ खर्ब नाघेको छ । यो अवधिमा कुल १ खर्ब ९ अर्ब २४ करोड ९१ लाख ६ हजार राजस्व प्राप्त भएको भन्सार विभागले जनाएको छ ।