सरकारको आम्दानी भन्दा खर्च धेरै, लक्ष्य भन्दा कम उठ्यो राजस्व

सरकारको आम्दानी भन्दा खर्च धेरै, लक्ष्य भन्दा कम उठ्यो राजस्व

भीम विश्वकर्मा

काठमाडौं । सरकारले आम्दानी भन्दा खर्च धेरै गरेको छ । असोज महिनामा १५.९३ प्रतिशत आम्दानी गरेको सरकारले खर्च भने १६.२ प्रतिशत गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । पहिलो त्रैमासिक अवधिमा दुई खर्ब ८० अर्ब ५७ करोड २५ लाख बराबर बजेट खर्च भएको छ । जुन खर्च वार्षिक विनियोजनको १६.२ प्रतिशत बराबर हो ।

यो अवधिमा सरकारले चालुतर्फ १८.६९, पुँजीगततर्फ पाँच दशमलव नौ र वित्तीय व्यवस्थातर्फ १६.०५ प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार हालसम्मको सरकारी राजस्व सङ्कलन दुई खर्ब ३४ अर्ब ६३ करोड २४ लाख बराबर रहेको छ । जुन वार्षिक लक्ष्यको १५.९३ प्रतिशत बराबर हो ।

सरकारले चालु आवका लागि १४ खर्ब ७२ अर्ब ४८ लाख ४७ हजार बराबर वार्षिक राजस्व उठाउने लक्ष्य राखेको छ । ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म वार्षिक लक्ष्यको ०.१२ प्रतिशत अर्थात् ६ करोड १८ लाख बराबर अनुदान लिएको छ ।