नेपाली बजारमा भोलिदेखि आइफोन १५ सिरिज उपलब्ध

नेपाली बजारमा भोलिदेखि आइफोन १५ सिरिज उपलब्ध

कहिरन

नेपाली बजारमा आइफोन १५ सिरिज भित्रिएको छ।

गत भदौमा अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक आइफोन १५ सिरिजको विभिन्न मोडल शुक्रबारदेखि नेपाली बजारमा पनि उपलब्ध हुने भएको हो। नेपालमा आइफोन १५ को विभिन्न १३ मोडल खरिद गर्न सकिनेछ।

एप्पलले विभिन्न स्टोरेज क्षमतामा आइफोन १५ को आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स सार्वजनिक गरेको थियो।

बजारमा १२८ जिबीको आइफोन १५ को मूल्य एक लाख ५७ हजार पाँच सय रूपैयाँ तोकिएको छ। २५६ जिबीको आइफोन १५ को मूल्य एक लाख ७६ हजार पाँच सय रूपैयाँ र ५१२ जिबीको दुई लाख १४ हजार पाँच सय रूपैयाँ तोकिएको छ।

त्यस्तै, आइफोन १५ प्लसमा १२८ जिबीको एक लाख ७६ हजार पाँच सय रूपैयाँ, २५६ जिबीसहितको आइफोन १५ प्लसको एक लाख ९५ हजार पाँच सय रूपैयाँ र ५१२ जिबीको आइफोन १५ प्लसको मूल्य दुई लाख ३३ हजार पाँच सय रूपैयाँ तोकिएको छ।

आइफोन १५ प्रोअन्तर्गत १२८ जिबीको मूल्य एक लाख ९५ हजार पाँच सय रूपैयाँ, २५६ जिबीको मूल्य दुई लाख १४ हजार पाँच सय रूपैयाँ, ५१२ जिबीको दुई लाख ५३ हजार र एक टिबी क्षमताको आइफोन १५ प्रोको मूल्य दुई लाख ९० हजार पाँच सय रूपैयाँ तोकिएको छ।

आइफोन १५ प्रो म्याक्स पनि तीन वटा स्टोरेज क्षमतामा उपलब्ध हुनेछ। २५६ जिबी क्षमता भएको आइफोन १५ प्रो म्याक्सको मूल्य दुई लाख ३३ हजार पाँच सय रूपैयाँ तोकिएको छ। ५१२ जिबीको आइफोन १५ प्रो म्याक्सको बजार मूल्य दुई लाख ७१ हजार पाँच सय रूपैयाँ र एक टिबी क्षमता भएको आइफोन १५ प्रो म्याक्सको मूल्य तीन लाख ९ हजार पाँच सय रूपैयाँसम्म तोकिएको छ।

आइफोन १५ को विभिन्न मोडलमध्ये सबैभन्दा सस्तो १२८ जिबी क्षमताको आइफोन १५ हो जसको मूल्य एक लाख ५७ हजार पाँच सय रूपैयाँ तोकिएको छ। सबैभन्दा महँगो भने एक टिबी क्षमताको आइफोन १५ प्रो म्याक्स हो जसको बजार मूल्य तीन लाख ९ हजार पाँच सय रूपैयाँ तोकिएको छ।

नेपाली बजारमा आइफोनको उत्पादन भित्र्याउने जेनेरेसन नेक्स्टका अनुसार आइफोन १५ को कुनै पनि मोडल ग्लोबल आइएमई बैंक, इनभेस्टमेन्ट मेगा बैंक र हिमालयन बैंकबाट शून्य डाउनपेमेन्टमा खरिद गर्न सकिन्छ। ब्याजदर भने बैंकले तोकेअनुसार हुने बताएको आयातकर्ताले बताएको छ।