हालसम्म देशभर २७ प्रतिशत मात्रै धान रोपाइँ

हालसम्म देशभर २७ प्रतिशत मात्रै धान रोपाइँ

कहिरन समाचार

काठमाडौं । देशभर हालसम्म करिब २७ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएको थियो ।

कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले गत वर्षभन्दा यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको जानकारी दिए ।

प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्याङ्क अनुसार असार २१ गतेसम्म करिब २७ प्रतिशत मात्र रोपाइँ भएको उनले बताए । विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी भएको उनले बताए ।

हालसम्म सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा र कम मधेश प्रदेशमा धान रोपाइँ भएको छ । सुदुरपश्चिममा ४८.९७ र मधेसमा ९.५३ प्रतिशत मात्रै धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कर्णाली प्रदेशमा ४५.०२, कोशी प्रदेशमा ३६.६७, बागमती प्रदेशमा ३०.७८, लुम्बिनी प्रदेशमा २४.७८ र गण्डकी प्रदेशमा १७.५५ प्रतिशत धान रोपाइँ भएको छ ।

आगामी साउन १५ सम्म सामान्य हिसाबले रोपाइँ हुने भएकाले विगत वर्षमा जस्तै शतप्रतिशत रोपाइँ हुने मन्त्रालयको प्रारम्भिक अनुमान छ ।