‘मौद्रिक नीतिमा असहज अवस्थाको जस्तो सुविधा हुदैन, धेरै आश नगर्नु’

‘मौद्रिक नीतिमा असहज अवस्थाको जस्तो सुविधा हुदैन, धेरै आश नगर्नु’

कहिरन समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब असहज अवस्थामा दिए जस्तो सुबिधा दिन नसकिने बताएका छन् ।

नेपाल ब्यवस्थापन संघ (एनएमए)ले बिहीबार राजधानीमा आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा गभर्नर अधिकारीले यस्तो कुरा बताएका हुन् ।

गभर्नर अधिकारीले बैंकर र व्यवसायीलाई संकेत गर्दै आगामी मौद्रिक नीतिबाट धेरै आशा गर्न नहुने पनि बताए । ‘असहज अवस्थामा दिएको सुविधा अहिले पुन: माग गर्नु अनावश्यक महत्वकांक्षा हो,’ उनले भने ।

गर्भनर अधिकारीले मौद्रिक नीतिको पहिलो प्राथमिकता महँगी नियन्त्रण हुने र सँगसँगै बाह्य क्षेत्रको स्थायित्व हुने बताए । उनले बजेटले लिएको आर्थिक वृद्धिलाई पूरा गर्ने हिसावले मौद्रिक नीति आउने बताए ।

उनले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरले राम्रो नतिजा देखाएको पनि दाबी गरे । ‘यद्यपि यस बारे थप अध्ययन हुन जरुरी रहेको र मर्जर सँधै सेवा र सुविधामा आधारित मात्र हुन हुँदैन,’ उनको टिप्पणी थियो ।

कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले निक्षेपको ब्याज एकल अंकमा झार्न सुझाव दिए । यस्तै उनले सेयर र घरजग्गामा कडाइ गर्नुपर्ने पनि बताए ।

‘अहिले पनि बैकहरु ओभर क्यापिटालाइज्ड भएका छन्, अब ऋण लगानी गर्नुस् निक्षेप उठाउनुस्, पूँजी पुगिसकेको छ, सेयर बजार र घरजग्गामा कडाइ गरौं,’ उनले भने ।

यता पूर्वगभर्नर तिलक रावलले नेपालका लागि सन्तुलित मौद्रिक नीति आवश्यक रहेकोमा जोड दिएका थिए ।