३५ अर्बको यातायात तथा व्यापार अभिवृद्धि आयोजना सुरू

३५ अर्बको यातायात तथा व्यापार अभिवृद्धि आयोजना सुरू

कहिरन समाचार

काठमाडौं । नेपाल सरकार र विश्व बैंकद्वारा संयुक्तरुपमा २७ करोड ५० लाख डलर (३४ अर्ब ९६ करोड रुपैयाँ) लागतको पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना शुभारम्भ गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राईजरले संयुक्तरुपमा आयोजनाको शुभारम्भ गरेका हुन् । यस आयोजनाले नेपालमा छनौट गरिएका व्यापारिक करिडोरहरूमा व्यापार,यातायात लागत र पारवहन समय घटाएर व्यापार र आवद्धता सुधार गर्न मद्दत गर्नेछ ।

पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि अन्तर्गत पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिंगे–चनौटा सडकको ६९ किलोमिटर दुई लेनको खण्डलाई जलवायु उत्थानशील चार लेनको राजमार्गमा स्तरोन्नति गरिनेछ । सडक सुरक्षा सुनिश्चित गर्दै आयोजनाले उक्त सडकमा यात्रा समय ३० प्रतिशतले घटाउने अपेक्षा गरेको छ । यसले भारतको पश्चिमी बन्दरगाहसम्म नेपालले सहज पहुँच प्रदान प्राप्त गर्नेछ ।

विशेष गरी महिला उद्यमी र व्यापारीहरूका लागि आर्थिक अवसरहरू वृद्धि गर्नमा ध्यान दिँदै यस आयोजनाले राजमार्गमा आवश्यक इन्टरनेट र व्यापार सूचना सुविधासहितको कम्तीमा तीनवटा बजार क्षेत्रहरू निर्माण गर्नेछ । बंगलादेश, भुटान, भारत र नेपालले परस्पर क्षेत्रमा मालसामान र यात्रुवाहक सवारी साधनको सहज आवतजावत गर्नका लागि हस्ताक्षर गरेको यातायात सम्झौता सम्बन्धमा नेपालको पूर्वतयारी तथा कार्यान्वयनका लागि पनि यस आयोजनाले सहयोग गर्ने जनाएको छ ।

थप परिष्कृत यातायात र व्यापार आवद्धताले नेपाल लगायत दक्षिण एसियाली देशहरुबीचको आर्थिक समायोजनलाई प्रर्वद्धन गर्ने बताइएको छ । यसले बृहत व्यापार र बजारको मार्ग खोल्ने अपेक्षा गरिएको छ । आयोजनाले नेपालमा क्षेत्रीय व्यापार वृद्धि गर्ने छ भने दिगो पूर्वाधार विकास मार्फत हरित, उत्थानशील तथा समावेशी विकासलाई सघाउने विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष राईजरले भने ।