सरकारको आम्दानी र खर्चको खाडल गहिरिदै, खर्च ३ खर्बले बढी

सरकारको आम्दानी र खर्चको खाडल गहिरिदै, खर्च ३ खर्बले बढी

कहिरन समाचार

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो १० महिना (वैशाखसम्म)मा नेपाल सरकारका विभिन्न खातामा १ खर्ब ८० अर्ब ४२ करोड रुपैयाँ मौज्दात रहेको देखिएको छ । गत बर्षको असार मसान्तसम्म सरकारका खातामा २ खर्ब २५ अर्ब ८० करोड रुपैयाँ मौज्दात रहेको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक स्थितिअनुसार स्रोत व्यवस्थापनमा कमि आउँदा यस वर्ष सरकारको खर्च र आम्दानीका बीचमा २ खर्ब ९१ अर्ब ५१ करोड रुपैयाँको खाडल देखिएको छ ।

राष्ट्र बैंकका अनुसार गत बर्षको तुलनामा चालु वर्षको १० महिनामा सरकारको कुल खर्च १५.३ प्रतिशतले बढेको छ भने राजस्व परिचालन १२.६ प्रतिशतले कमी आएको छ ।

चालु वर्षको अवधिमा सरकारले १० खर्ब ४७ अर्ब रुपैयाँ खर्च गरेको छ । सरकारले गर्ने आम्दानी भने मात्र ७ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यसबाट २९१ अर्ब ५१ करोड रुपैयाँको खाडल सरकारको आम्दानी र खर्चका बीचमा देखिन्छ ।

रेमिटान्स आप्रवाहमा वृद्धि
चालु आर्थिक बर्षको पहिलो १० महिनामा रेमिटान्स आप्रवाह २३.४ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा रेमिटान्स १० खर्ब पाँच अर्ब १८ करोड रुपियाँ भित्रिएको छ । गत बर्ष सोही अवधिमा रेमिटान्स ०.५ प्रतिशतले मात्रै बढेको थियो । अमेरिकी डलरमा रेमिटान्स १३.४ प्रतिशतले बढेको छ ।

आर्थिक मन्दीका कारण लक्ष्यअनुसार राजश्व नउठेर छटपटाएको सरकारलाई विदेशमा बस्नेहरुले रेमिटान्स सोचेभन्दा धेरै पठाइदिँदा सरकारलाई ठूलो राहत मिलेको छ । रेमिटान्स बढ्दा शोधनान्तर स्थिति दुई खर्ब १४ अर्ब ६७ करोड बचत हुन पुगेको छ । अघिल्लो बर्ष सोही अवधिमा यस्तो शोधनान्तर स्थिति दुई खर्ब ८८ अर्ब ५० करोड ऋणात्मक थियो ।

समीक्षा अवधिमा चालु खाता भने ५४ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो बर्ष सोही अवधिमा चालु खाता पाँच खर्ब ४५ अर्ब छ करोडले घाटामा थियो ।

यस्तै चालु वर्षको १० महिनाको अवधिमा नेपालमा विदेशी मुद्राको सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । गत बर्षको असार मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रहेको थियो । अमेरिकी डलरमा वैशाखसम्म ११ अर्ब २१ करोड देखिएको छ । १० महिनाको सञ्चितिले ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले उल्लेख छ ।

आयात निर्यात घट्यो
यस्तै आयात गत वर्षको तुलनामा यस वर्ष करीब १६.८ प्रतिशतले घटेको छ । वैशाखसम्म १३ खर्ब ३५ अर्ब मूल्यका वस्तु आयात भएका छन् । खासगरी सवारीसाधन तथा स्पेयर पार्टस्, फलाम, औषधि, अन्य मशिनरी तथा पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्टस् लगायत वस्तुको आयात घटेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै वस्तु निर्यात गत वर्षको यही अवधिका तुलनामा २४.५ प्रतिशतले घटेर एक खर्ब ३० अर्ब ९० करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकको तथ्याङ्क छ । यो वर्ष सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुनचाँदीका सामान तथा गरगहना लगायत वस्तुको निर्यात घटेको छ ।

खाद्य पदार्थको मूल्यवृद्धि १४ प्रतिशत बढ्यो
यस्तै बैंकको तथ्यांक अनुसार वैशाख महीनामा गत वर्षको तुलनामा खाद्य पदार्थको मूल्य १३.६९ प्रतिशतले बढेको छ । आलु वर्ष औसत मूल्यवृद्धि झन्डै आठ प्रतिशत रहने देखिएको छ । वैशाखसम्म औसत मूल्यवृद्धि दर ७.८६ प्रतिशत छ ।

खाद्यान्न, तरकारी सहितका वस्तुको मूल्यवृद्धिका कारण जेठ र असारमा पनि मूल्यवृद्धि दर उच्च नै कायम हुने अनुमान गरिएको छ । चालू आर्थिक वर्षको पहिलो चार महीना मूल्यवृद्धि दर आठ प्रतिशतभन्दा माथि थियो । वैशाख महीनाको उपभोक्ता मूल्यवृद्धि दर ७.४१ प्रतिशत छ।

राष्ट्र बैंकका अनुसार वैशाखमा मरमसलाको मूल्य सर्वाधिक २६.६१ प्रतिशतले बढेको छ । रेस्टुरेन्ट तथा होटलको मूल्य १४.८७ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको मूल्य १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको मूल्य ८.४९ प्रतिशतले बढेको छ ।

तर, तेल र घ्यूको मूल्य भने वैशाखमा १४.४४ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार तरकारीको मूल्य पनि १.९ प्रतिशतले घटेको छ । त्यस्तै, मनोरञ्जन तथा संस्कृति क्षेत्रको मूल्य १५.७५ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको मूल्य ८.२७ प्रतिशतले बढेको छ।

वैशाखमा थोक मूल्य भने ३.३१ प्रतिशत मात्रैले बढेको छ । अघिल्लो वर्षको सोही महीनामा यस्तो मूल्यवृद्धि १६.०६ प्रतिशत रहेको थियो ।