नेपालको सार्वजनिक ऋण साढे २१ खर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण साढे २१ खर्ब नाघ्यो

कहिरन समाचार

काठमाडौं । नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे २१ खर्ब रुपैंयामाथि पुगेको छ । अर्थ मन्त्रालय मातहतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (साउन–वैशाख) सम्ममा कुल सार्वजनिक ऋण रू २१ खर्ब ५४ अर्ब १२ करोड ३९ लाख बराबर रहेको छ ।

तथ्यांक अनुसार कुल सार्वजनिक ऋणमध्ये आन्तरिक तर्फ रू १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख र बाह्य ऋण रू १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख बराबर नेपालले तिर्न बाँकी रहेको देखिएको हो । गत वर्षको असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण रू २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख बराबर थियो ।

चालु वर्षको १० महिनाको अवधिमा मात्र रू एक खर्ब ४० अर्ब ८२ करोड ७५ लाख बराबर ऋण थपिएको हो । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार रू ४८ खर्ब ५१ अर्ब ६२ करोडलाई आधार मान्दा जीडीपीमा सार्वजनिक ऋणको अनुपात ४४.४० प्रतिशत बराबर देखिएको छ ।

जीडीपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पूँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्नेसक्ने देखिएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिना अवधिमा मात्र सरकारले रू दुई खर्ब ३० अर्ब २४ करोड ६७ लाख ऋण उठाएको छ भने रू एक खर्ब ४३ अर्ब ४२ करोड दुई लाख बराबर साँवा ब्याज तिरेको छ । वैशाख मसान्तसम्ममा सरकारले गरेको पूँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गरेको खर्च करिब रू १८ अर्बले बढी हो । वैशाख मसान्तसम्ममा सरकारको पूँजीगत खर्च रू एक खर्ब २५ अर्ब ६७ करोड बराबर छ ।

यसरी एकातर्फ सरकारको राजश्व असुली न्यून हुँदा ऋण उठाएर घाटा बजेट पूर्ति भइरहेको छ भने अर्कोतर्फ बर्सेनि थपिँदै गएको ऋणको साँवा ब्याजसमेत बढ्दै जाँदा वार्षिक बजेटको ठूलो अंश यसमा खर्च हुने गरेको छ ।

चालु आर्थिक वर्षको १० महिनामा सरकारले आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीमा रू एक खर्ब १० अर्ब ४२ करोड ५८ लाख र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा रू ३२ अर्ब ९९ करोड ६२ खर्चिएको छ । आन्तरिकतर्फको साँवा रकम रू ६३ अर्ब ४७ करोड ४४ लाख, ब्याज रू ४६ अर्ब ८५ करोड तीन लाख र कमिसन रकम रू १० करोड ११ लाख बराबर रहेको छ ।

त्यस्तै, बाह्य ऋणतर्फ साँवा भुक्तानीमा रू २५ अर्ब ९४ करोड ४८ लाख र ब्याज भुक्तानीमा रू सात अर्ब पाँच करोड १४ लाख बराबर खर्च भएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले उठाएको आन्तरिक ऋण रू एक खर्ब ५९ अर्ब ५० करोड र बाह्य ऋण रू ७० अर्ब ७४ करोड बराबर रहेको छ ।