आजदेखि नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक

आजदेखि नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक

कहिरन समाचार

काठमाडौं । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक कमिटी (जेएससी)को पाँचौँ बैठक सोमबारदेखि बंगलादेशमा सुरु हुँदै छ । नेपाल र बंगलादेशबीच ऊर्जामा सहकार्य गर्ने गरी सन् २०१८ मा जेएससी गठन भएको थियो । त्यसको पाँचौँ बैठक सोमबार र मंगलबार बंगलादेशको ढाकामा हुन लागेको हो ।

बैठकमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानुन मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभागलगयातका निकायका प्रतिनिधि आइतबार बंगलादेश प्रस्थान गरिसकेका छन् । यसपालिको बैठकमा विशेष गरी दुई देशबीचको विद्युत् व्यापार, लगानी र अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी एजेन्डामा छलफल गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले बताए ।

दुई दिनसम्म सञ्चालन हुने बैठकमा पहिलो दिन सोमबार (आज) सहसचिवस्तरीय छलफल हुनेछ । सोही छलफलले निर्णयको खाका तयार गरेर मंगलबार हुने सविचस्तरीय बैठकलाई सिफारिस गरिनेछ । सोहीअनुसार सचिवस्तरी बैठकले निर्णयलाई अन्तिम रूप दिनेछ ।

उनका अनुसार दुई देशबीच विद्युत् व्यापार सम्झौता (पिटिए) गर्ने प्रस्ताव बैठकमा पेस गरिनेछ । त्यसकै आधारमा नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गर्न पनि बाटो खुला गर्ने मन्त्रालयको योजना छ ।

यस्तै, बैठकमा नेपालको जलविद्युत् आयोजनामा बंगलादेशको सरकारी तथा निजी लगानी भित्र्याउने प्रस्ताव पेस गरिनेछ । नेपाल र बंगलादेशले संयुक्त लगानीमा ६ सय ८३ मेगावाटको सुनकोसी तेस्रो जलविद्युत् आयोजना बनाउने सहमति भइसकेको छ । यसका लागि गत भदौमा सम्पन्न ऊर्जा बैठकमा नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेलभमेन्ट बोर्डबीच सहमति पनि भइसकेको छ ।

यस आयोजनामा एक खर्ब ६० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यसलाई यही बैठकमार्फत टुंगोमा पुर्‍याउने योजना मन्त्रालयको छ । विशेष गरी संयुक्त कम्पनी स्थापना गर्ने मामलामा आवश्यक समझदारी गरिनेछ । साथै, यसको निर्माण मोडालिटी पनि टुंगो लगाउने सहसचिव भेटुवालले बताए । यसबाहेक अन्य जलविद्युत् आयोजनामा पनि बंगलादेशको सरकारी तथा निजी लगानी भित्र्याउने गरी एजेन्डा लैजाने मन्त्रालयको तयारी छ ।

यस्तै, नेपाल–बंगलादेश अन्तरदेशीय डेडिकेटेड प्रसारण लाइन बनाउने विषयमा पनि बैठकमा छलफल हुनेछ ।