नेप्सेमा दोहोरो अकंको वृद्धि एक दिन पनि टिकेन, कारोबार झनै घट्यो

नेप्सेमा दोहोरो अकंको वृद्धि एक दिन पनि टिकेन, कारोबार झनै घट्यो

कहिरन समाचार

काठमाडौं । मंगलबार दोहोरो अकंले बढेको शेयर बजार आज एक दिन पनि टिक्न सकेन । आज शेयर बजार झिंनो अकंले घटेको छ भने कारोबार रकम भने झनै घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.४३ अंकले घटेको हो । बजार ०.१३ प्रतिशतले घट्दा नेप्से परिसूचक १८४१.९३ विन्दुमा झरेको छ ।

आज २६५ कम्पनीका १९ लाख ४२ हजार ६ सय २६ कित्ता शेयर किनबेच हुँदा ५८ करोड ९१ लाख ७७.१२ रुपियाँको कारोबार भएको हो । हिजो मंगलबार १०.६६ अंकले बजार बढ्दा ७७ करोड ४७ लाख ६० हजार ६ सय ४७.०७ रुपियाँ बराबरको कारोबार भएको थियो ।

घटेको बजारमा आज हिमाल दोलखा हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.२४ प्रतिशतले नाफा कमाएका छन् । कम्पनीको शेयर मूल्य प्रतिकित्ता १२.४६ अकंले बढेर रू. १६३.६० कायम भएको छ । त्यस्तै दोस्रोमा बाराही हाइड्रोपावरको शेयर मूल्य ५.८७ प्रतिशत बढेर प्रतिकित्ता रू. ४७१ कायम भएको छ ।

यस्तै आज ‘९.५५ एनसीसी डिबेन्चर २०८६’ नामक ऋणपत्रका लगानीकर्ताले सर्वाधिक ७.२४ प्रतिशतले घाटा व्यहोरेका छन् । ऋणपत्रको मूल्य प्रतिकित्ता रू. ८९० मा झरेको छ । त्यस्तै दोस्रोमा मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य ५.४७ प्रतिशत घटेर रू. ३२१.३० कायम भएको छ ।

नेप्सेका अनुसार आज हिमाल दोलखा हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३ करोड ५६ लाख १० हजार ८ सय ४७ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । त्यस्तै दोस्रोमा नबिल बैंकको रू. ३ करोड ५४ लाख बराबरको कारोबार भएको छ ।

आज बजारमा पाँच समूहको परिसूचक बढेको छ भने आठ समूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ०.६० प्रतिशत बढेको छ भने ‘अन्य’ समूहको परिसूचक सर्वाधिक ०.७९ प्रतिशत घटेको हो ।